यति मात्रै हो त कांग्रेसबाट सरकारको रक्षा गर्ने ?

कांग्रेस नेता डा.शेखर कोइरालाले सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ताघटक दुई दल कांग्रेस र एमालेले बनाएको संयन्त्र अनावश्यक रहेको बताए ।
प्रतिस्पर्धी पार्टीसँग सहकार्य गरेर संगठन नबन्ने दाबीसमेत शेखरले गर्दै आएका छन् । शेखर सरकार गठनताकाको सातबुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठबन्धन सरकारको तीव्र आलोचनामा उत्रिए । त्यसको दुई दिनअघि थारू संघ, नवलपुरको अधिवेशनलाई संबोधन गर्दै वर्तमान सरकारले उद्देश्यअनुरूप काम गर्न नसकेको, गभर्नर नियुक्तिका विषयमा संविधान मिचिएको, शिक्षक आन्दोलनलाई समयमै संवोधन नगरी एक महिना लम्ब्याइएको, भ्रष्टाचार र दण्डहीनता बढेको, संविधान पुनरावलोकनका विषयलाई बिर्सिंदै गएकोलगायत आरोपको वर्षा नै गरे । सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि कार्यान्वयन हुन मुश्किल रहेको ठोकुवासमेत गर्न भ्याए ।
घटनाक्रमले कांग्रेसभित्र सरकारको बचाउ गर्न देउवा र मन्त्री मात्र उभिनुपर्ने अवस्था देखिएको छ । शेखर, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, एनपी साउददेखि प्रवक्ता डा.प्रकाशशरण महतसम्म सरकारको कामप्रति सन्तुष्ट छैनन् । हरेक दिन विरोधका अभिव्यक्ति आइरहेका छन् । सरकारविरुद्ध बोल्ने आफ्नै गुटका नेताहरूको मुख टाल्न देउवालाई समेत यतिबेला हम्मे परेको छ । गगन थापा त राजनीतिक संयन्त्रको बैठकमा समेत जान छाडिसकेका छन्् । सरकारमा बसेर नागरिकमा उत्साह जगाउन नसकिएको बताउँदै पार्टी सभापतिलाई नै रक्षात्मक बनाउने भनाइ नेताबाट एकपछि अर्को आइरहेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले गएको शनिबार नीति कार्यक्रमको पक्षमा खुलेर बोल्न निर्देशन नै दियो ।
सांसदहरू प्रधानमन्त्रीले गठबन्धनको अभ्यास नगरेको र सरकार एकलौटी जस्तो बनेको भन्दै विरोधमा उत्रिए । सांसद शंकर भण्डारी, प्रतिमा गौतम, मोहनबहादुर बस्नेत, डिकबहादुर लिम्बूलगायतले खुलेरै ओलीको ठाडो विरोध गरे । दलको बैठकपछि नेता ज्ञानेन्द्रबहादुर कार्की मिडियासँग देउवाको बचाउमै बढी केन्द्रित हुनुले पनि संस्थापन पक्ष रक्षात्मक बन्दै गएको आभाष मिल्छ ।
पछिल्लो समय सरकारको प्रतिरक्षाको जिम्मा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा र सरकारमा हुने कांग्रेसका मन्त्रीको मात्र हो भन्ने भाष्य पार्टीभित्र निर्माण हुँदै गएको छ ।
टिप्पणीहरू