दुई जना श्रीमानविरुद्ध ठाडो उजुरी
उच्च अदालत, सुर्खेतका न्यायाधीशद्धय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीमाथि कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ । जातीय विभेदसम्बन्धी कसूर बदर गरी अन्यायपूर्ण फैसला गरेको उल्लेख गर्दै पीडित परिवारले उनीहरुमाथि छानबिन र कारबाहीको माग गर्दै आज परिषद्मा उजुरी हालेको हो ।
प्रेमिका लिन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा सामूहिक हत्या भएको थियो । जिल्ला अदालत, रुकुम पश्चिमले घटनामा संलग्न २३ जनालाई जन्मकैदसहित छुवाछुत तथा जातीय भेदभावसम्बन्धी मुद्दामा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
प्रतिवादीहरुले उच्च अदालत, सुर्खेतमा पुनरावेदन गरेकोमा गत वैशाख १६ गते न्यायाधीशद्धय मैनाली र भण्डारीको संयुक्त इजलासले जन्मकैदको सजायलाई सदर गर्दै जातीय छुवाछुतको कसुरमा दिइएको सजाय भने बदर गरिदिएको थियो । त्यसयता पीडितको परिवार निरन्तर सडक आन्दोलनमा छ ।
नवराजका बुवा मोहनलाल विकले सो आदेशले दलित समुदायमाथि दोहोरो अन्याय भएको बताएका छन् । उनले अन्यायपूर्ण आदेश गर्ने न्यायाधीशद्धयमाथि नेपालको संविधान, २०७२ को धारा १५३ को उपधारा (४),(५),(६) बमोजिम छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
‘यो फैसला केवल कानुनी कमजोरी होइन, नेपालको संविधानले प्रत्याभूत गरेको सामाजिक न्याय र समानताको भावनाविरुद्धको गम्भीर आघात हो । दलित समुदायप्रति दोहोरो अन्याय हो । पहिले जातका कारण हत्या भयो अहिले न्यायको नाममा विभेदकारी फैसला न्यायाधीशले सुनाएको महसुश भएको छ’,उजुरीपत्रमा भनिएको छ,‘उच्च अदालत, सुर्खेतका उक्त फैसलाप्रति गम्भीर न्यायिक समिक्षा होस्, अन्यायपूर्ण निर्णय दिने न्यायाधीशहरुविरुद्ध निष्पक्ष छानबिन प्रक्रिया शुरु गरी नेपालको संविधान, २०७२ को धारा १५३ को उपधारा (४),(५),(६) बमोजिम छानबिन गरी कारबाही गरिपाऊँ ।’
टिप्पणीहरू