पूर्वराजाको रकम नवराजको हातमा
विदेशमा बस्ने राजावादीहले पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट काठमाडौँ महानगरलाई तिर्नुपर्ने जरिवाना रकम नवराज सुवेदीको हातमा थमाएका छन् ।
हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य सचिव अंगत प्रसाद देवकोटाले ८ लाख ३९ हजार ४०० रुपैयाँ ‘जनआन्दोलन संघर्ष समिति’ का संयोजक सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । त्यसमध्येबाट सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी सोही आन्दोलनका क्रममा घाइते भएकालाई सहयोगस्वरूप वितरण गरिने जनाइएको छ ।
गत चैत्र १५ गते सुवेदी नेतृत्वको उक्त समितिले तीनकुनेमा गरेको प्रदर्शन हिंसामा परिणत हुँदा करोडौंको भौतिक संरचनामा क्षेति पुगेपछि काठमाडौँ महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा सात लाख ९३ हजार जरिवाना तोकेको थियो । महानगरको टोलीले निर्मल निवास पुगेर पत्र बुझाए पनि अहिलेसम्म जरिवाना तिरिएको छैन ।
आयोजकलाई पत्र काट्नुपर्नेमा ‘राजा’ लाई दोषी देखाउनेगरी मेयर बालेन्द्र शाहले पूर्वाग्रह राखेको राजावादीहरुको आरोप रहँदै आएको छ । राजावादी आन्दोलनलाई बदनाम गर्न यसो गरिएको दाबी उनीहरुको छ ।
त्यहीबेला विदेशमा रहेका राजावादीहरुले पूर्व राजाका लागि रकम संकलन अभियान थालेका थिए । सोही रकम उनीहरुले आज सुवेदीलाई बुझाएका हुन् । विश्वभरका राजावादीहरुले पूर्वराजाको नाममा शुरु गरेको पैसा उठाउने अभियानको केही दिनमै आठ लाख ३९ हजार ४०० संकलन भएको जानकारी दिएका थिए ।
टिप्पणीहरू