पाकिस्तानमाथि भारतीय आक्रमणपछि सिंहदरबारमा सुरक्षा बैठक तारन्तार
जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालमासमेत चिन्ता थपिएको छ । दुई छिमेकीको लडाईंले नेपालमा पर्नसक्ने प्रभाव र अपनाउनुपर्ने सतर्कताबारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को ३८ औं बैठक बसेको छ ।
त्यसअघि आजै गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा मुख्यसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
बैठकपछि दक्षिणतर्फ खुला सिमानाका कारण भारतबाट निकालिएका पाकिस्तानीहरु विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावनालाई ख्याल गर्दै सीमावर्ती क्षेत्रमा थप कडाई गरिँदैछ । सीमामा चेकजाँच बढाउन र अवैध प्रवेश नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिइएको छ ।
सशस्त्रका सबै युनिटलाई उच्च सतर्कतामा रहन गृह मन्त्रालयले निर्देशन गरेबमोजिम सशस्त्रले मातहतका कार्यालय÷विभागलाई सर्कुलर गरिसकेको छ । सम्भावित आतंककारी क्रियाकलाप, धार्मिक प्रकृतिका अतिवादी गतिविधि गर्नसक्ने व्यक्ति,समूह र संघ संस्थाको पहिचान गरी नियमित निगरानी गर्न र आवश्यकताअनुसार सुरक्षात्मक कारबाही चलाउन भनिएको छ ।
सीमा इलाकामा भइरहेका नियमित चेकजाँच र गस्तीलाई दोब्बर गरिने भएको छ । त्यसको निरन्तर अनुगमन र प्रतिवेदन बुझाउन विभागीय निर्देशन पनि दिइएको छ ।
अनधिकृत गतिविधि र व्यक्तिको घुसपैठ रोक्न नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र चेकजाँचलाई अनिवार्य गर्ने निर्णय भएको छ । ‘सीमा क्षेत्रमा स्थानीय प्रशासन र अन्य सुरक्षा निकायहरुसँगको नियमित सम्पर्क एवं समन्वयमा विभिन्न रुप र बहानामा नेपाल प्रवेश गर्ने व्यक्ति समूहको परिचय पत्र चेकजाँच गर्ने। .....’ सशस्त्रको आन्तरिक सर्कुलरमा भनिएको छ ।
त्यसैगरी, भारतीय समकक्षीसँग नियमित समन्वय गरी सूचना आदान प्रदान गर्ने, सीमामा सशस्त्र प्रहरीको फौज परिचालन अझ बढी प्रभावकारी बनाउन सुरक्षात्मक कारवाही निरन्तर संचालन गर्ने निर्णय छ । सीमा इलाकामा भएका जुनसुकै घटनाको बारेमा विभागीय प्रमुखमा जाहेर जाहेर गर्न र परिचालनको विस्तृत विवरण विभागको केन्द्रीय परिचालन शाखामा दैनिक खुलाई पठाउन भनिएको छ ।
अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएपछि सदाबहार प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच टकराव बढेको थियो । यसबीच भारतले गएराति ‘अपरेसन सिन्दूर’ को नाममा पाकिस्तानमाथि सैन्य कारबाही थालेपछि तनाव चुलिएको छ ।
तीनतिर भारतसँग खुला सिमाना जोडिएकाले यसको प्रभाव नेपालमा पर्नसक्ने चिन्ता व्याप्त छ । दिउँसो प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरुले कूटनीतिक जिम्मेवारी बोध गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका थिए ।


टिप्पणीहरू