देउवासङ्ग भिड्ने सागर अफ्रिकाबाट आउँदै

देउवासङ्ग भिड्ने सागर अफ्रिकाबाट आउँदै

‘युवा विद्रोह’को घोषणा गर्ने सामाजिक अभियन्ता सागर ढकालले अफ्रिकाको मेकेरेरे विश्वविद्यालय पुगेर त्यहाँका विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । अध्यापनको क्रममा एक वर्षअघि त्यहाँ पुगेका उनले स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुसँग छलफल गरेको बताइन्छ । 

 गुल्मीका ढकालले सामाजिक सञ्जालमा अन्तरक्रियाको केही तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘सानो कामको सिलसिलामा अफ्रिकाको उत्कृष्ट मेकेरेरे विश्वविद्यालयमा रहेका स्नातक र स्नातकोत्तरका विद्यार्थीहरूलाई आफूले जानेको कुरा सिकाउँदै र नजानेको कुरा सिक्दै ।’

२०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुराको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका ढकाल पेशाले इञ्जिनियर हुन् । निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धीको रुपमा १३ हजार ४२ मत ल्याएका थिए । विजयी देउवाको मत २५ हजार ५३४ थियो भने तेस्रो स्थानमा एकीकृत समाजवादीका कर्णबहादुर मल्लले सात हजार ५३४ पाएका थिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘हजुरबुबा’ भन्न रुचाउने उनले आगामी हप्ता नेपाल फर्किन लागेको जानकारी दिएका छन् । गत महिना तीन ‘हजुरबुबा’लाई घरमै आराम गर्न सुझाव दिँदै ‘युवा विद्रोह’को घोषणा गरेका थिए । 

सोही अभियानका लागि उनी नेपाल फर्किन लागेको कतिपयको अनुमान छ ।

टिप्पणीहरू