बेकारमा ‘टाइम पास’ नगर्न शेखरको सुझावपछि प्रधानमन्त्रीको हिजोको दाबी खेर

बेकारमा ‘टाइम पास’ नगर्न शेखरको सुझावपछि प्रधानमन्त्रीको हिजोको दाबी खेर

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारविरुद्ध अब कोही काँग्रेसी बोल्दैन’ भनेको २४ घण्टा नबित्दै काँग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनको औचित्य नदेखिएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले हिजो सचिवालय बैठकमा बोल्दै ‘कांग्रेस भन्या देउवा हो, देउवा भन्या कांग्रेस हो’ भन्दै आलोचना गर्दै हिँड्ने नेताहरु ट्र्याकमा आइसकेको जानकारी अन्य पदाधिकारीलाई दिनुभएको थियो । 

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने कतिपय कांग्रेसी नेताहरुलाई सभापति देउवामार्फत् चुप गराएको उहाँको आशय थियो । तर नेता कोइरालाले आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार झन् असफल बन्दै गएको विश्लेषण गरेका छन् ।

सरकारले सात बुँदे सम्झौता बिर्सेर गलत बाटोमा हिँडिरहेको कोइरालाको तर्क छ । उनले भने, ‘सात बुँदे सम्झौताको आधारमा यो सरकार बनेको हो, तर त्यही सम्झौतामा रहेका संविधान पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचार निर्मूल, सुशासन दिनेका कुरामा चुकेको छ ।’

पार्टीको १५औँ महाधिवेशनबाट सभापति बन्न आन्तरिक गृहकार्य समेत बढाएका कोइरालाले सरकार चलाउन दुई दलीय संयन्त्रको कुनै काम नभएको तर्क गरे । स्थानीय तहसम्मै दुईदलीय संयन्त्र बनाएर ‘टाइम पास’ नगर्न उनको सुझाव छ । ‘सरकार सञ्चालनको लागि हामीले जुन संयन्त्र बनाएका छौं, त्यो आवश्यक छैन, डेमोक्रेटिक सिस्टममा जाने भए सरकारभित्रको संयन्त्र बनाउनुपर्छ’, उनले अघि भने, ‘बाहिरको संयन्त्र बनाउने होइन, अनि पालिकासम्मै संयन्त्र बनाएर जाने जुन निर्णय भएको छ, त्यो गलत हो ।’

प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा गत कात्तिक २२ गते सरकार सञ्चालनमा सहजीकरणको उद्देश्यसहित दुईदलीय संयन्त्र गठन गरिएको थियो । संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई सदस्य राखिएको छ । कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा तोकिएका हुन् ।

टिप्पणीहरू