मेयर बालेनविरुद्ध उत्रेका व्यवसायीहरु हारगुहार गर्दै सिंहदरबारमा

मेयर बालेनविरुद्ध उत्रेका व्यवसायीहरु हारगुहार गर्दै सिंहदरबारमा

काठमाडौं महानगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले मन्त्रीको सहयोग मागेका छन् । महानगरको ज्यादती रोक्न माग गर्दै कवाड व्यवसायी समाजले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको छ । 

मेयर बालेन्द्र साह (बालेन) ले महानगरबाट गरिब र गरिखाने वर्गलाई हटाउन खोजेको उनीहरुको आरोप छ । ज्ञापनपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरुमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ । महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकहरुको टाउको फुटेको र अंगभंग भएका छन् । खासगरी भन्ने हो भने मेयर बालेन्द्र साहले महानगरबाट गरिब जनता गरिखाने वर्गलाई हटाउन खोजेको छ ।’ 

कवाड व्यवसायी र संकलकमाथि भइरहेको महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्दै व्यवसायीको जीउधनको रक्षा गर्न माग गरिएको छ ।

टिप्पणीहरू