जर्नेल बढुवामा राणा सिफारिस
नेपाली सेनाको रिक्त सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवाका लागि महासेनानी दिवाकरविक्रम राणा सिफारिस भएका छन् । सैनिक ऐन, २०६३ को परिच्छेद–४, दफा २१ तथा सैनिक सेवा नियमावली, २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नम्बर ४ बाहिनी अड्डाका व्य.नं. २७५९ महासेनानी राणालाई सहायक रथी दर्जामा बढुवाको लागि सिफारिस गरिएको सेनाले जनाएको छ ।
सहसेनानी विकास गौतमले जारी गरेको सिफारिससम्बन्धी आन्तरिक सूचनामा बढुवा सिफारिस निर्णयमा चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहितको निवेदन परिचय खुल्ने गरी सैनिक सचिव विभागमा पेश गर्नुपर्ने उल्लेख छ ।
सूचना प्रकाशित गरेको सैनिक सचिव विभागबाहेक अन्य निकायमा परेका निवेदन र बेनामी तथा पूर्ण विवरण बिनाका निवेदनमाथि कुनै कारवाही नहुने भनिएको छ । सैनिक साधारण सेवातर्फ रिक्त उक्त पदमा भएको सिफारिसको जानकारी र बोधार्थ वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखाललगायत दक्षिण सुडानमा तैनाथ शान्ति सैनिक मिसन टोलीलाई समेत दिइएको छ ।
टिप्पणीहरू