न्यायाधीशमाथि कारबाहीको माग गर्नेको हात गोडामा नेल
सोती घटनामा उच्च अदालत सुर्खेतको फैसलाप्रति असन्तुष्टि जनाउँदै राजधानीको माइतीघर मण्डलामा धर्ना दिइएको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाहीको माग राख्दै घटनामा मारिएका पीडित परिवारले धर्ना दिएका छन् ।
उनीहरुलाई दलित अभियन्ता खगेन्द्र सुनारले पनि साथ दिएका छन् । हात र गोडामा नेल लगाउँदै ‘न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाही गर’ लेखिएको प्लेकार्डसहित धर्ना दिएका छन् । प्रेमिका लिन रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विकसहित छ जनाको २०७७ जेठ १० गते सोतमा सामूहिक हत्या भएको थियो । घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको थियो ।
सोविरुद्ध प्रतिवादीहरुले उच्च अदालत सुर्खेतमा पुनरावेदन गरेकोमा गत वैशाख १५ गते न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासले जन्मकैदको सजायलाई सदर गर्दै उनीहरुलाई जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरिदिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा आफन्तहरु विगत चार दिनयता माइतीघर मण्डलामा धर्नामा छन् ।
टिप्पणीहरू