एनआरएनमा दुई चिरा,प्रधानमन्त्रीको ढाडस ‘मैले मानेपछि सक्किगो, तपाईंहरु नै आधिकारिक’
गैरआवासीय नेपाली संघ (एनआरएनए)को हिजो सम्पन्न एकता महाधिवेशनमा नअटाएको बद्रि केसी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेको छ । उक्त समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूहरुको समूहलाई नै आधिकारिक नेतृत्व स्वीकार गरिदिन आग्रह गरेको थियो ।
सर्वोच्च अदालतको परमादेशअनुसार डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकता महाधिवेशन गराएर महेश श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति गठन गरिसकेको छ । त्यसपछि केसी नेतृत्वको कार्यसमिति स्वतः अवैध बनेको घले समूहको दाबी छ । उक्त पृष्ठभूमिमा केसीसहितका एनआरएनए नेताहरुले प्रधानमन्त्रीको साथ खोजेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले ‘आधिकारिक कार्यसमिति तपाईंहरु नै हो’ भन्दै ढाडस दिएको केसी समूहले बतायो । प्रधानमन्त्रीको भनाई उधृत गर्दै स्रोत भन्छ, ‘तपाईंहरुको कार्यक्रममा म आफैं धेरैपटक पुगिसकेको छु,मैले मानेपछि सक्किहाल्यो नि,तपाईंहरु नै हो आधिकारिक पदाधिकारी ।’
नयाँ कार्यसमिति अध्यक्ष महेश नेतृत्व को टोलीले भने बिहान माओवादी केन्द्रका अध्यक्ष र दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेको थियो । आजै नयाँ नेतृत्वले काँग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग पनि भेटिसकेको छ ।
टिप्पणीहरू