कामु गभर्नर भोलिदेखि ‘थ्री इन वन’

कामु गभर्नर भोलिदेखि ‘थ्री इन वन’

नेपाल राष्ट्र बैंकमा गत चैत २५ गतेदेखि रिक्त गभर्नर पदमा नियुक्ति हुन नसक्दा डेपुटी गभर्ननर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायमको जिम्मा दिइएको छ । भोलिदेखि उनै तिम्सिनाले दुई वटा डेपुटी गभर्नरको जिम्मेवारी पनि सम्हाल्नुपर्ने भएको छ ।

अर्का डेपुटी बमबहादुर मिश्र निजी कामले संयुक्त राज्य अमेरिका जान लागेकाले केन्द्रीय बैंकको नेतृत्वमा निलम एक्लो हुनेछिन् । उनले केही दिन कामु गभर्नर र दुई वटै डेपुटीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको छ । बैंकका एक जना सञ्चालकले व्यङ्ग्यमिश्रित लवजमा भने, ‘कामु नै भएपनि म्याडम केही दिनका लागि थ्री इन वन हुने अवस्था बनेको छ । गभर्नरमा अरुलाई नियुक्त गर्नुअघि कामुले सबै जिम्मेवारी निर्वाह गर्ने अवस्था देखियो ।

इतिहासमा क्याबिनेटले विशेष निर्णय गर्दै नोटमा हस्ताक्षरसहित कायम मुकायमको जिम्मेवारी दिएका तत्कालीन कृष्णबहादुर मानन्धरबाहेक म्याडमले बैंकको वार्षिकोत्सव समारोहसमेत अध्यक्षता गर्ने मौका पाएपछि यस्तो अवसर बिरलैले पाउने चर्चा छ ।’ 

यता, नयाँ गभर्नर नियुक्तिको लागि गठित गभर्नर सिफारिस समितिको अनौपचारिक बैठक शुक्रबार बिहान अर्थ मन्त्रालयमा बसेको थियो । भोलि पनि बैठक बस्नसक्ने मन्त्रालय स्रोतले बतायो । सकेसम्म तीन जना उम्मेदवारको नाम टुंग्याएर क्याबिनेटसमक्ष पेश गर्ने तयारी रहेको बताइन्छ । अस्तिको बैठकमा उम्मेदवारबारे कुनै चर्चा नभएकाले तीन जनाले एक एक जनाको नाम सिफारिस गर्ने मोडालिटीमा निर्णय हुने सम्भावना छ । 

त्यसोहुँदा संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको राजनीतिक सहमति अनुसार गुणाकर भट्टको नाम लिनसक्ने स्रोतको दाबी छ । सुदूरपश्चिमका काँग्रेस निकट भटट्ले बैंकको कार्यकारी निर्देशकबाट वैशाख ५ गते राजीनामा दिए पनि कामु गभर्नरले स्वीकृत गरेकी छैनन् । अर्का सदस्य विश्व पौडेललाई ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिसका लागि ‘माथि’ बाट चर्को दबाब हुने अनुमान छ । 

पूर्व गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर बमबहादुर मिश्र वा अवकाशप्राप्त कार्यकारी निर्देशक देवकुमार ढकालको नाम अघि सार्ने कतिपयको आकलन छ । ढकाल सर्वोच्च अदालतका श्रीमान बालकृष्ण ढकालका साख्खै दाजु हुन् । ज्ञानेन्द्रको नाम सिफारिसमा समिति सदस्यहरु एकमत हुनसक्ने सम्भावना न्यून रहेको बताइन्छ । 

कानुनबमोजिम एक महिना अगावै फागुन २५ भित्र नयाँ गभर्नर नियुक्ति गरिसक्नुपर्ने थियो । तर, रिक्त भएको एक महिना नाघिसक्दा पनि त्यसतर्फ सरकारले कुनै निर्णय गर्न सकेको छैन ।

टिप्पणीहरू