नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै असन्तुष्टि, विपक्षी आक्रोशित
सरकारको नीति तथा कार्यक्रमप्रति सत्ता पक्षभित्रैबाट असन्तुष्टिको स्वर सुनिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनतामा उत्साह जगाउन नसकेको नेपाली काँग्रेसका नेताहरुले बताएका हुन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम परम्परागत शैलीमा आएकाले अहिलेको देशको आवश्यकता सम्बोधन गर्नेमा शंका व्यक्त गरे ।
‘बितेका वर्षहरुमा जस्तै परम्परागत शैलीको नीति तथा कार्यक्रम आयो’, उनले भने, ‘परम्परागतभन्दा एक स्टेप अघि बढेर वैज्ञानिक र समयानुकूल कार्यक्रम ल्याउनुपथ्र्यो, त्यसमा केही कमजोरी देखिन्छ ।’
काँग्रेसकै अर्का नुवाकोटे सांसद अर्जुन नरसिंह केसीले पनि नीति तथा कार्यक्रममा आशावादीता नरहेको टिप्पणी गरेका छन् । बलियो आँटसहित नीति कार्यक्रम नआएको उनको भनाई छ ।
‘जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ सांसद केसीले भने ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नीति तथा कार्यक्रममाथि आलोचनात्मक टिप्पणी गरेका छन् । उनले पनि पुरानै ढर्रामा कार्यक्रम ल्याइएको र यसले अहिलेको जटिलता हल गर्न नसके बताए ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आज सार्वजनिक नीति तथा कार्यक्रमलाई अमूर्त, गन्तव्यहीन र निराशाको संज्ञा दिएका छन् । यसले जनतामा आशाभन्दा पनि निराशा जगाउने उनको जिकिर छ ।
‘नीति तथा र्यक्रम गन्तव्यविहीन जस्तो लाग्यो, अर्कोतिर निरस खालको छ’, पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो, मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने गरिन्थ्यो, यसपटक त्यस्तो छैन ।’
नीति तथा कार्यक्रममा कार्यान्वयन नहुने खतरा देखेका छन् माओवादीकै अर्का सांसद माधव सापकोटाले । नीति राम्रो राखे पनि कार्यक्रम नभएको उनको प्रतिक्रिया छ ।
सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने सापकोटा बताउँछन् । युवा पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रममा ल्याउन नसकेको गुनासो उनले गरे ।
अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि नीति तथा कार्यक्रममा आशा जगाउने विषय नसमेटिएको प्रतिक्रिया दिएका छन् ।
सांसद शिशिर खनालले गत वर्षको नीति तथा कार्यक्रम ‘फोटोकपी’ गरिएको तर्क गरे । ‘नयाँ कुरा केही छैन । सरकार पुरै थाकेर, हारेकोजस्तो देखियो’, उनले भने, ‘हावादारी भए पनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम रहेछ ।’
राप्रपा सांसद ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रम टोले गुण्डाले बोक्ने खास्टोजस्तो भएको टिप्पणी गरे ।
‘सरकारले पुरानै नीति तथा कार्यक्रममा नयाँ शब्द थपेर ल्याएको छ’, उनले भने,‘कुनै नयाँ कुरा छैन, टोले गुन्डाले चन्दा उठाउने सम्झौताको खास्टोजस्तो देखिन्छ ।’
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधिजस्तै भएको टिप्पणी गरे । नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको र यसले देशको संकट निवारण नगर्ने उनको दाबी छ ।
टिप्पणीहरू