विमानस्थलको पार्किङमा जंगी लुट, प्रदीपकाे छुट
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अर्बौं घोटाला काण्डमा मुछिएर अख्तियारको चक्कर काटिरहेका नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पार्किङ शुल्कमा समेत लुट मच्चाएको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पस्ने बाह्य गाडी पार्किङको व्यवस्था क्यान र भित्रको विमानस्थल कार्यालयले गर्दै आएको छ । ठेक्का डिआरआर कम्प्लेक्स लजिस्टिक एण्ड कार्गो प्रालिले पाएको छ । विगतमा सेवा दस्तुर नियमावलीको प्रावधान अनुसार शुल्क तोक्ने गरिएको थियो । तर, आफूखुशी दस्तुर तोक्नका लागि क्यानले सो अनुसूची हटाएको छ ।
त्यसपछि मर्जीअनुसार शुल्क तोकिँदै आको छ । जसको कारण सवारी धनीसँगै विमानस्थलका कर्मचारीसम्म मारमा परेर चर्को शुल्क तिर्न बाध्य छन् । पछिल्लोपटक तीन वर्षका लागि क्यानले सो कम्पनीलाई ठेक्कामा दिएको र जिम्मा पाएको दुई महिनामात्र भएको कम्पनीका म्यानेजिङ डाइरेक्टर दिपेश बस्नेतले बताए ।
सो कम्पनीले बाइक राखदा ४८ दिनको भ्याटसहित ६ हजार ३९९ रुपैयाँँ लिएको बिल जनआस्थालाई प्राप्त भएको छ । बिलमा एक दिनको ११७ रुपैयाँँ ९९ पैसा लिएको देखिन्छ । पार्किङ शुल्क कुन आधारमा तोकियो ? एक दिनको ११७ रुपैयाँँ लिनु नियमसंगत छ कि छैन ? सवाल खडा भएको छ । एक घण्टाको ४० रुपैयाँँ लिनु अस्वाभाविक हो । उनले जनआस्थासँग भने, ‘यो त अति नै भयो । मनलाग्दी शुल्क लिनेलाई कारबाही हुनुपर्छ कि पर्दैन ?
पार्किङ शुल्क तोकेर क्यानले टाँसिदिएको उल्लेख गर्दै उनले त्यसैअनुसार शुल्क लिने गरेको जानकारी दिए । मोटरसाइकलको प्रतिघण्टा ४० रुपैयाँँ र कारको ८० रुपैयाँँ निर्धारण गरिएको छ । प्रतिदिन मोटरसाइकल राख्दा २४० र कारको ४८० रुपैयाँँ लाग्छ । अधिकांशले महिनाभर पार्किङमा राख्ने गरेको उनको जिकिर छ । प्रतिदिन ११७ रुपैयाँँ एकदमै कम भएको बस्नेत बताउँछन् । ‘यहाँ पार्किङ गर्ने धेरै कर्मचारी हुनुहुन्छ । उहाँहरूलाई हामीले मिलाएर दिएका छौं, उनले भने ।
टिप्पणीहरू