‘सगरमाथा संवाद’मा मोदी नआउने भएपछि अर्को तनाव
सरकारले निकै महत्वका साथ आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रममा प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयले अन्यौलता छाएको छ । आगामी जेठ २ गते सोल्टी होटल (पाँचतारे)मा आयोजना गर्न लागिएको कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको टुंगो लगाउन निर्देशक समितिलाई कठिन परेकाे हो ।
स्रोतका अनुसार निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाउने प्रस्ताव राख्नुभएको थियाे । तर, मोदीले उक्त समयमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएको बताइन्छ ।
सगरमाथा संवाद सचिवालयका अनुसार करिब ५० देशका तीन सयभन्दा बढी पाहुनालाई निमन्त्रणा पठाइएको छ । भारत, चीन, बंगलादेश, भुटान, थाइल्याण्ड, माल्दिभ्सलगायतका राष्ट्र प्रमुख तथा विज्ञहरुलाई निमन्त्रणामा पठाइएकोमा धेरैबाट सहभागीताको सुनिश्चित भइसकेको बताइएकाे छ ।
प्रधानमन्त्री ओलीको प्रथम रुचीमा परेका भारतीय प्रधामन्त्री मोदी नआउने भएपछि अब कसलाई प्रमुख अतिथि बनाउने भन्नेमा अन्यौलता थपिएको हो । ‘प्रधानमन्त्रीज्यूले भारतीय समकक्षीलाई प्रमुख अतिथि बनाउने इच्छा व्यक्त गर्नुभएको थियो’, परराष्ट्र मन्त्रालय स्रोत भन्छ, ‘परराष्ट्रले त्यसको निमन्त्रणा पनि पुर्याएको हो, तर उताबाट अरु नै सहभागी हुने सन्देश आयो ।’
सगरमाथा संवादका लागि प्रधानमन्त्री ओलीको अध्यक्षता तथा परराष्ट्रमन्त्री आरजु राणाको सहअध्यक्षतामा निर्देशक समिति गठन गरिएको थियो । प्रमको निर्देशनपछि संवाद सचिवालयले प्रधानमन्त्री कार्यालयमै कार्यकक्ष बनाएर तयारीका कामहरु गरिरहेको छ ।
टिप्पणीहरू