भन्सारमा निश्चित समूहको हालिमुहाली
कुनैपनि भन्सार कार्यालयले पक्रेको अवैध तथा भन्सार छलिएका सामान बुझ्न सम्बन्धित व्यक्ति, फर्म वा संस्थालाई सूचित गर्छ । त्यसपछि पनि दाबी नपरेको अवस्थामा निश्चित प्रक्रिया पूरा गरेर लिलाम गरिन्छ । तर रुपन्देहीको बेलहिया भन्सार कार्यालयमा रहेका त्यस्ता सामान एउटा निश्चित समूहले सँधै आफ्नो पोल्टामा पार्ने गरेको पाइएको छ ।
कार्यालयले अवैध तथा भन्सार छलेर निकासी तथा पैठारीका माल वस्तुहरु ढुवानी गरेको अभियोगमा समातिएपछि भन्सार कार्यालयमा दाखिल भएका, भन्सार पास नभएका वस्तु तथा सवारी / ढुवानी साधनहरुको हकदाबीबारे सम्बन्धित पक्षलाई पुष्टि हुने प्रमाणसहित तथा सामानको प्रकृति अनुसार सार्वजनिक सूचनाबाट सूचित गर्ने गरेको छ । उक्त अवधिभित्र दाबी पर्न नआएमा राष्ट्रिय दैनिकमा लिलाम बिक्रीको सूचना प्रकाशित गरेर बोलपत्र आह्वान पनि गरिन्छ । तर स्वतन्त्र ढङ्गले दर रेटका आधारमा छनोट भएको फर्म लाई लिलामी गर्नुपर्ने कानुनी प्रावधान छ ।
यता हिजोदेखि भन्सारको कर्मचारी नेतृत्वलगायत सम्बधित पक्षलाई प्रभावमा पारेर निश्चित समूहको रजगज शुरु भएको बताइन्छ । सरकारी कार्यालयमा प्रयोग हुने खालका केही गाडी सरकारी कार्यालयले लिलाम मूल्यमा किने पनि अरुमा वर्षौंदेखि मुद्दा शाखालाई प्रभावमा पारेर बाबुराम पौडेलको समूहले रजगज चलाउँदै आएकोे दृश्य यो वर्ष पनि देखिएको छ । अदालत जाने मुद्दा बाहेक भित्रका अन्य मुद्दामा कार्यालय प्रमुखको सर्वाधिकार रहने हुँदा कार्यालय प्रमुखलाई प्रभावमा पारेर उक्त समूहले आफ्नो स्वार्थमा काम फत्ते गरेको आरोप छ ।
पौडेल समूहले प्रतिस्पर्धी फर्महरुलाई विभिन्न ढङ्गले दबाबमा राख्दै बोलपत्र पेश गर्न नदिएको, आफू निकटका फर्मलाई मात्र बोलपत्र पेश गर्न लगाएर लिलाम हत्याउने गरेको बताइन्छ । भित्रबाटै हुने सेटिङ्गमा राजश्वका ठूला कर्मचारीको हालिमुहाली चलेपनि बाहिरका खुद्रे मोलमोलाइमा कार्यालय सहयोगी र पियनहरुलेसमेत दुःख दिने गरेको साना व्यापारीको गुनासो छ ।
कार्यालय प्रमुख रामप्रसाद रेग्मीले लेन शाखामा कार्यरत आफू निकटका कर्मचारीमार्फत् काम फत्ते गराउँदै आएको अरु कर्मचारीको भनाइ छ । कार्यालयमा प्रशासन, लेखा समूहका कर्मचारी र प्राविधिक समूहअन्तर्गतका कम्प्युटर अपरेटरहरु, भन्सार एजेन्ट र राजश्वका कर्मचारी सामु निरीह देखिन्छन् । भनिन्छ, ‘स्वयम् कम्प्युटर अपरेटरले कार्यालयको इमेलसम्म खोल्न पाउँदैनन् ।’
टिप्पणीहरू