युवामाथि ट्राफिक प्रहरीले किन बजारे लात्ती ?
भनिन्छ,‘प्रहरी जनताका रक्षक हुन् ।जनधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो । तर,कुनै बेला तिनै प्रहरी जनताका लागि भक्षक बनिदिन्छन् । सामाजिक सञ्जालमा भाइरल बनेको एउटा त्यस्तै भिडियोले यतिबेला धेरैको ध्यान खिचेको छ । भिडियोमा ट्राफिक प्रहरीले मरणासन्न हुनेगरी एक व्यक्तिलाई कुटपिट गरिरहेको देखिन्छ ।
चार जना ट्राफिक प्रहरीमध्ये एउटाले ती व्यक्तिलाई लात्तै लात्ताले हान्छन् । अन्य तीन जना भने दर्शक बनेर रमिता हेरिरहेका हुन्छन् । सडकमा ढलेका ती व्यक्ति ट्राफिक प्रहरीको निर्घात कुटपिटले उठ्न पनि सक्दैनन् । सो भिडियोले सामाजिक सञ्जाल तताएको छ । बर्दीको घमण्ड देखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ती ट्राफिक प्रहरीको विरोध गरिरहेका छन् ।
सरिता सेढाइँले ती ट्राफिक प्रहरीमाथि कारबाही हुनुपर्ने माग राखेकी छिन् । लेख्छिन्,‘कस्तो मानवता नभएको ट्राफिक पुलिस रैछ । यसलाई कडाभन्दा कडा कारबाही गरियोस् ।’ रुपेश कार्कीले कुटपिट गर्ने ट्राफिकलाई ‘बर्दीधारी गुण्डा’ भनेका छन् । उनले लेखेका छन्,‘यसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । साला बर्दीधारी गुण्डा,तेसलाई नि त्यस्तै गरी हान्न पर्नि हो ।’
सन्तोष बास्तोलाले ट्राफिक व्यवस्था जनतालाई सास्ती दिन र डर देखाउन नभई सुरक्षा र सहुलियतका लागि भएको बताएका छन् । ‘यो पहिलोपटक होइन,हामीले पनि धेरै पीडितबाट सुनेकै छौं । ट्राफिक प्रहरीले कसरी अधिकारको दुरुपयोग गर्छन् भन्ने । अब भिडियो सार्वजनिक भएपछि मात्रै छानबिन शुरु गर्नुको सट्टा,किन नीतिगत सुधारतर्फ लाग्दैन सरकार ? ट्राफिक व्यवस्था सुरक्षा र सहुलियतको लागि हो, सास्ती र डर देखाउन होइन’,उनले भनेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाबारे छानबिन अगाडि बढाएको छ । सर्वसाधारण कुट्ने ट्राफिकको पहिचान भइनसकेको कार्यालयले जनाएको छ । केही समयअघि चितवनमा एक प्रहरीले मोटरसाइकलमा आएका युवकमाथि लात्ती बर्साएका थिए । सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी कारबाहीमा परेका थिए ।
टिप्पणीहरू