हैसियत गुमाएका प्रधानमन्त्री उद्घाटनमा व्यस्त : प्रचण्ड

हैसियत गुमाएका प्रधानमन्त्री उद्घाटनमा व्यस्त : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियत गुमाएको टिप्पणी गर्नुभएको छ । नेकपाको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको पदमा बसेर ओलीले लाजमर्दो व्यवहार देखाइरहेको बताउनुभयो ।

वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षणबाहेक अरु केही नगरेको प्रचण्डको विश्लेषण छ । ‘केपी ओली नेतृत्वको सरकारको काम भनेकै भ्रष्टाचारीलाई संरक्षण गर्ने हो, आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई जसरी पनि संरक्षण गर्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘साँच्चै भन्ने हो भने ओलीले सरकारको नेतृत्व गर्ने, प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाइसकेका छन् ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले शिक्षक आन्दोलनको विषयमा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । ‘शिक्षकहरु दुई हप्तादेखि आन्दोलनमा छन्, उनीहरुको समस्याप्रति गम्भीर र घनिभूत छलफल गरेर अघि बढ्नुपर्ने हो । तर प्रधानमन्त्रीले नै शिक्षकलाई गाली गर्ने, अपमान गर्ने, हप्काउनेबाहेक केही गरेका छैनन्, योभन्दा लाजमर्दो के हुन्छ ?’, उहाँले थप्नुभयो । 

ओली नेतृत्वको सरकार उद्घाटनमा भने अग्रपंक्तिमा रहेको प्रचण्डको बुझाई छ । नागढुंगा सुरुङमार्गको प्रसंग औल्याउँदै अघि भन्नुभयो, ‘त्यो सुरुङमार्गको ब्रेक थ्रु त मै प्रधानमन्त्री हुँदा भएको हो, अहिले हतारमा सरकारले उद्घाटन गर्दैछ भन्ने सुनेको छु । अरु केही नगरे पनि ओलीको सरकारले उद्घाटन चाहीँ गर्छ क्या !’

टिप्पणीहरू