छड्के हान्न पठाउने हो सरकार !

छड्के हान्न पठाउने हो सरकार !

प्रधानमन्त्रीद्वारा भ्रष्टाचार हुन दिन्न भन्ने भनाइलाई मन्त्रझैँ बनाइएकै बेला कम्पनी रजिष्ट्रार कार्यालयमा दैनिक हुने अनियमितता जिब्रो टोक्ने खालको छ । सेवाग्राही आफैँ नजाने र कानुन व्यवसायी तथा बिचौलियामार्फत काम हुने यस कार्यालयमा सामान्य कामका लागि पनि हजार घुस नलिई फाइल नसर्ने अवस्था रहेको बुझिएको छ । सबै प्रकारका कम्पनीको दर्ता, नामसारी, ठाउँसारी, लगत दर्ता, अद्यावधिकलगायत कामका लागि कम्पनी प्रतिनिधिका रूपमा प्रायः कानुन व्यवसायी त्यहाँ पुग्ने गर्छन् । 

पब्लिक लिमिटेड कम्पनीका सामान्य अद्यावधिकको कामका लागि समेत कर्मचारीले १५ हजारभन्दा कममा फाइल छुनै नमान्ने गरेका गुनासा छन् । ठूला कर्पोरेट हाउस र कम्पनीको रूपमा रहेका पब्लिक लिमिटेडका काम आउनासाथ कर्मचारीको मागको ग्राफ अकल्पनीय रूपमा बढ्ने गरेको छ । लिमिटेडका सामान्य कामको लागि कर्मचारीले १५ हजार दर तोकेकाले सो कार्यालयमा जान डर लाग्ने गरेको व्यवसायीको अनुभव छ ।

कम्पनीको एक करोडको शेयर लगत निकाल्दा कममा पनि ५० हजार घुसस्वरूप बुझाएन भने कामै नहुने अर्का व्यवसायीले बताए । यस्ता कामका लागि दैनिक दर्जनौंको संख्यामा कम्पनीका प्रतिनिधि आउने गरेका छन् । एक कानुन व्यवसायी हिसाब गर्दै सयौंको संख्यामा आउने हरेक कामबाट कर्मचारीले उठाउने घुसको रकम दैनिक लाखौं हुने बताउँछन् । पैसा उठाइने मुख्य फाँटको रूपमा रहेको पब्लिक लिमिटेडमा सुब्बा सुमन भट्टराई, योगेन्द्रविक्रम शाह र सहायक रजिष्ट्रारहरू भीमप्रसाद पराजुली र रविन कार्कीलगायत छन् ।

यो रकम उपरजिष्ट्रारसमेत संलग्न भई रजिष्ट्रारसम्म पुग्ने गरेको छ । हजारमा लिइने घुस लेनदेनको विवरण त कार्यालय वरिपरि रहेका सिसिटिभी क्यामेराका रेकर्ड हेरे पनि छर्लंग हुने एक कानुन व्यवसायी बताउँछन् । लाखमा हुने घुसको कारोबार भने कर्मचारी आफैंले नगरी उनीहरूले खटाएका बिचौलियामार्फत हुने गरेको छ । 
 

टिप्पणीहरू