कसले मार्यो पूर्व हवल्दार सीतालाई ?

प्रेम अनि विवाह । शंका उपशंका र त्यसले उत्पन्न गराएको असमझदारीका कारण आफ्नै शरीरमा पेट्रोल खन्याएर गत चैत १६ गते रातको पौने ९ बजेतिर स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका–३ घर भई बेसीशहर–७ क्याम्पसरोड नजिक केशप्रसाद गुरुङको घरमा डेरा गरी बस्ने २८ वर्षीय पावल बिकले आत्मदाह गर्न खोजे । जापानी भाषा सिक्दै गरेकी बेनपा–३ स्थायी ठेगाना भएकी २२ वर्षीया सुष्मिता परियारसँग विहे गरेको आधा महिना नबित्दै शरीरमा आगो झोस्न पुगेका पावलको शरीर र अनुहार पूरै जलेपछि प्रदेश अस्पताल लमजुङहुँदै थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर काठमाडौं पठाइएको छ ।
चैत १८ गते आफ्नै जन्मदिनको दिन दूध व्यवसाय गर्ने ५६ वर्ष आसपासका सुन्दरबजार नपा –७ पाउँदी बस्ने रामचन्द्र पोखरेलले आफ्नै घरमा परिवार मस्त निद्रामा परेको बेला जीवनलीला समाप्त पारेका छन् । यी दुई घटनाको चर्चा सेलाउन नपाउँदै राइनास नगरपालिका–१० घर भई ७ वर्षदेखि बेंसीशहर–८ दनाइफाँटमा डेरा गरी बस्ने २८ वर्षीया दुर्गा गुरुङले २७ गते बिहानै कोठामा झुण्डिएर आत्महत्या गरिन् । श्रीमान् वैदेशिक रोजगारको लागि कुवेतमा छन् । उनी बच्चा पढाउने भन्दै बेंसीशहरमा । आत्महत्या गर्नु एक दिनअघि मात्रै लोग्नेसँग कुराकानी भएको र ४९ हजार रकमसमेत आएकोमा बैंकबाट रकम झिक्न नपाउँदै उनले आत्महत्या गरेकी हुन् । उनको आत्महत्यासँगै अटोचालक ४१ वर्षका सुकबहादुर तामाङ पक्राउ परेका छन् ।
मृतककि भाउजू किस्ता गुरुङको उजुरीका आधारमा २८ गते पक्राउ परेका च्याङ्वा भनेर चिनिने ५ छोरीको बाउ सुकबहादुरसँग सम्बन्ध भएको र उसैबाट बारम्बार मानसिक तनाव आएका कारण आत्महत्या गर्न बाध्य भएको जनाइएको छ । प्रहरीमा परेको जाहेरी दुर्गा बसेको डेरामा सुकबहादुरको लामै समयदेखि बाक्लो आउजाउ हुने गरेको र पछिल्लो समय तामाङको हर्कत देखेर आफू निकै तनावमा रहेको दुर्गाले मिल्ने साथी बेसीशहर नपा– ८ बस्ने लक्ष्मी गुरुङलाई म्यासेजमार्फत शेयर गरेकी थिइन् । २६ गते बेलुका पनि तामाङ डेरामा आएको र आमासँग झगडा गरेको दुर्गाका छोराहरूले बताएका छन् । २६ गते राति झगडा गरी हिँडेका तामाङ २७ गते बिहानै डेरानजिक पुगी उनको अवस्थाबारे अन्य मानिससँग बुझेका थिए ।
प्रहरी यही घटनाको अनुसन्धानमा थियोे । नयाँ सालको अघिल्लो दिन चुनौती थपियो । चैत ३१ गते साढे दुई बजेतिर प्रहरीलाई एउटा खबर आयो पूर्व हवलदार सीता कँडेल ३–४ दिनदेखि बेखबर बनेको । ४७ वर्षीय सीताका छोरा बुहारी ४–५ वर्षदेखि अष्ट्रेलियामा । साविक गाउँशहर गाविस भकुण्डेको जनकल्याण माविमा ८ कक्षा पढ्दै गर्दा त्यहीं पढाउने शिवेन्द्र कँडेलसँग कानुनी विवाह भएको हो । आमाको तीन/चार दिनदेखि फोनअफ हुँदा छोराले नाताले मामा पर्ने एक छिमेकीलाई घरमा हेर्न पठाए । कहिले चितवन, कहिले काठमाडौँ गर्ने सीता लमजुङ आफ्नै घरमा आमासँग बस्दै आएकी थिइन् । आमा पनि केही दिनअघि मात्र काठमाडौं गएकाले यता सीता एक्लै थिइन् ।
बेनपा–२ भकुण्डे बिटमा रहेका प्रहरीलाई समेत लिएर छिमेकी पुग्दा घरमा ताला लगएको तर झ्यालमा हरियो झिङ्गा भन्किएको र निकै दुर्गन्ध आएकाले जिप्रकामा खबर गरेलगत्तै डिएसपी रेशम बोहरा आफैँ पुगी घरको ढोका फोरी बक्स पलङ खोली हेर्दा त्रिपालले बेरिएको अवस्थामा शव भेटियो । उनले बोक्ने आइफोन समेत थिएन । अनुहारमा निकै चोट देखिन्थ्यो । अनुहार चिन्नै नसकिने पूरै नीलो । लमजुङमा हत्या बग्रेल्ती भए पनि यस्तो प्रकृतिको घटना आजसम्म भएको थिएन ।
टिप्पणीहरू