समर्पण गरिसकेका लडाकू कता बिलाए सरकार !
राजावादी आन्दोलनपछाडि लुकेको रहस्य
परिस्थितिको ठीक ढंगले विश्लेषण गर्दै फिल्डमा खटिएको फौजलाई बेलैमा परिचालन गर्न नसक्दा कस्तो अकल्पनीय दुर्घटना निम्तिन सक्छ भन्ने ताजा उदाहरण हो, तीनकुने घटना । चैत १५ गते शुक्रबारको राजावादी प्रदर्शनबारे सरकार र सुरक्षा निकाय बेखबर थिएनन् । अन्तिम राजा ज्ञानेन्द्र शाहले १४ गते बिहान १२ः ३० बजेसम्म निर्मल निवासमै बोलाएर आन्दोलनको कमाण्ड सम्हाल्ने जिम्मा मेडिकल माफिया दुर्गा प्रसाईंलाई दिएपछि केही उत्पात हुन सक्ने आकलन थियो । सुरक्षा निकायले त्यसअनुसार रणनीति बनाएको पनि हो तर आन्दोलन भड्किएर हिंसात्मक घटनामा परिणत हुँदा पनि प्रहरीले नियन्त्रण गर्न सकेन ।
आन्दोलनको ‘जनकमाण्डर’ भनिएका प्रसाईंले फिल्मी शैलीमा करोडौँ मूल्य पर्ने महँगो गाडी आफैँले हाँकेर संसद भवनको निषेधित क्षेत्र प्रवेश गर्दा पनि उनलाई नियन्त्रणमा लिन नसकेको प्रहरी निरीह देखियो । युट्युबरलाई समेत पछाडि राखेर गाडीको झ्यालबाट मुन्टो निकाली ‘आऊ आऊ’ भन्दै समर्थकलाई उकासेका उनले अन्धाधुन्द कुदाएको गाडीले प्रहरीलाई किच्न खोजेको थियो । आफ्नै ज्यान खतरामा पर्दासमेत प्रसाईंको अराजकता रोक्न प्रहरी किन असफल भयो ? शुक्रबारको राजावादी वितण्डामा सुरक्षा कमजोरीको सुरुवात यहाँबाट भएको देखिन्छ ।
कल्पना गरौँ त, प्रसाईंले हाँकेको गाडीले किचेर सुरक्षाकर्मीको ज्यान गएको भए के हुन्थ्यो होला ! अनि आत्मरक्षाका लागि गोली चलाउन पनि फिल्डमा खटिएको प्रहरीले कमाण्डरको आदेश कुर्नुपर्ने हो र ? टायरमा गोली हानेर गाडी रोक्ने प्रयास किन भएन ? यी र यस्ता प्रश्न अनि आशंकासँगै तीनकुने घटनाले केही गम्भीर सुरक्षा कमजोरी सतहमा ल्याइदिएको छ ।
फौजको संंख्या र पूर्वतयारीका हिसाबले प्रहरी कमजोर आत्मबलको अवस्थामा छँदै थिएन । उच्च सुरक्षा स्रोतका अनुसार राजावादी आन्दोलनकारी करिब ५ देखि ७ हजार हाराहारीमा हुँदा नेपाल प्रहरीका २२ सय र सशस्त्रका १८ सय गरी ४ हजार सुरक्षाकर्मी परिचालित थिए । आन्दोलनकारीकै हाराहारीमा सडकमा प्रहरी खटिँदा पनि आगजनी, तोडफोड र लुटपाट नियन्त्रण गर्न सुरक्षा संयन्त्र पूर्णतः चुक्यो । उक्त स्रोतको भनाइ मान्ने हो भने काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी र अपरेशन इञ्चार्ज डिएसपी सुन्दर तिवारी यसमा कच्चा ठहरिएका छन् । फिल्डमा खटिएका प्रहरीलाई उनीहरूले उपयुक्त समयमा आदेश÷निर्देशन नदिएकै कारण परिस्थिति बिग्रिएको हेडक्वार्टरको विश्लेषण छ ।
‘शुरुमै प्रसाईंलाई समातेर आन्दोलनकारीको मोराल डाउन गर्नुपर्नेमा उल्टो भैदियो’, सुरक्षा विश्लेषण गर्दै स्रोत भन्छ, ‘त्यसपछि परिस्थिति प्रहरीको काबुबाट फुत्किएको हो ।’ हुन त यी दुबै जना प्रहरी संगठनमा राम्रै छाप बनाएका अधिकृत मानिन्छन् । अनुसन्धानमा दक्षता राख्ने तिवारी रवि लामिछानेको सहकारी काण्ड खोतल्न सिआइबीबाट पोखरा खटिएका अधिकृत हुन् ।
तर, काठमाडौँ प्रहरी प्रमुख अधिकारीले कोठामा बसेर दिएको आदेश फिल्डमा कार्यान्वयन भएन । डिएसपीभन्दा माथिल्लो दर्जाका धेरैजसो ज्यान जोगाउन लुकेर बसेपछि सिनियर कमाण्डर एकजना पनि सडकमा देखिएनन् । आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका इन्स्पेक्टर तिलक बम, अशोक तोलंगेहरूलाई उर्जा दिने कोही थिएन । ’धन्न हामी बाँच्यौं’ भन्दै चोट बोकेका सिपाहीहरू रुवाबासी गर्दै थिए ।
सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउन त सजिलो छ, तर उनीहरू कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्नेतर्फ धेरैको ध्यान गएको देखिंदैन । विगतका कतिपय आन्दोलनमा झडप रोक्न बल प्रयोग गरेकै कारण प्रहरी अधिकृतहरूले राजनीतिक नेतृत्वको स्वार्थको शिकार हुनुपर्यो । यसपालि पनि बानेश्वरका डिएसपी वीरेन्द्र गोदारलाई निलम्बन र काठमाडौँका एसएसपीलाई सरुवा गर्ने तयारी थियो, यद्यपि आइजीपीको अडानले रोकियो । भाटभटेनीको एउटा गार्डले ठोकेर मान्छे लखेट्न सक्छ, तर त्यत्रो पुलिस फोर्सले सक्दैन ? प्रश्न उठ्दा फौजको गुनासो छ, ‘बल प्रयोग गरे पनि कारवाही हुन्छ, नगरे पनि कारवाही हुन्छ अनि कुन मोरालले काम गर्ने ? पुलिसको पनि विवेक हुन्छ, मान्छे मार्दै हिँड्ने त हैन नि, तर उचित बल प्रयोगको लागि त सिपाहीको मोराल बुस्टअप गर्दै जानुपर्ने हैन र !’
राजावादी वितण्डा नियन्त्रणमा प्रहरीको अर्को चुक भनेको काठमाडौँको भूगोल नबुझेको व्यक्तिलाई कमाण्ड दिनु पनि हो भनिन्छ । जिल्ला प्रहरी प्रमुख अधिकारी र अपरेशन इञ्चार्ज तिवारी दुबैसँग काठमाडौँमा धेरै लामो काम गरेको अनुभव छैन । ‘यहाँ बसिरहेको मान्छेमा घटना हुँदा कहाँ के हुन्छ भन्ने प्रि–अकुपाइड माइण्ड हुन्छ’, सुरक्षा स्रोत भन्छ, ‘आन्दोलनकारीले यसो गरे भने यस्तो काउन्टर रणनीति बनाउँछु भन्ने कुरा दिमागमा राखेर त्यसअनुसार कल्पनामा भिजुअल बनाउनुपर्ने हुन्छ । जुन कुरा भूगोल बुझेको कमाण्डरले मात्र गर्न सक्छ ।’
फौज तैनाथीमा नेपाल प्रहरीले गम्भीर भूल गरेपनि सशस्त्रको भने ठीकठाक नै देखिएको थियो । चोक–चोकमा एक–एक सेमु अर्थात् इन्स्पेक्टरले कमाण्ड गर्ने ३५ जनाको टोली खटाएको सशस्त्रका सिनियर कमाण्डरले पनि फिल्ड छोडेका थिएनन् ।
अर्कोतिर, सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिने तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति दिने स्थानीय प्रशासन पनि विवादमा परेको छ । एकातिर संसद भवन, अर्कोतिर अन्तर्राष्ट्रिय विमानस्थल ! नजिकै आयल निगमको डिपोसमेत भएकाले सो स्थान विरोध प्रदर्शनका लागि उपयुक्त ठाउँ होइन । तर, यस्तो संवेदनशील क्षेत्रमा व्यवस्था विरोधी आन्दोलन गर्न किन अनुमति दिइयो ? काठमाडौँका सिडिओ ऋषिराम अधिकारीमाथि पनि प्रश्न तेर्सिएको छ ।
आन्दोलनको पूर्वसुरक्षामा तराईमा सरेण्डर गरेका मधेशीहरू
अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने भन्दै सडकमा उत्रिएका राजावादी प्रदर्शनकारीले उपद्रो मच्चाउँदा तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्र क्षणभरमै रणभूमिमा परिणत भएको थियो । व्यक्तिका घर, सञ्चार गृह,पार्टी कार्यालय,सरकारी भवन र सवारी साधनमा तोडफोड तथा आगजनी गरियो भने कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चाइयो । कफ्र्यु लागिसकेपछि पनि ठाउँ–ठाउँमा आगजनी र तोडफोड रोकिएन ।
बंगलादेश प्रकृतिको लुटपाटको यो घटना छापामार शैलीमा केही घण्टामै घटाईएको थियो । सुरक्षाकर्मीलाई छक्याउँदै क्षणभरमा यत्रो उत्पात मच्चाउन कसरी सम्भव हुन्छ ? प्रहरी स्रोतका अनुसार ठूलो संख्यामा तालिमप्राप्त लडाकू र भूतपूर्व सुरक्षाकर्मी सहभागी थिए, जसले आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेले । ‘उनीहरू (पूर्व सुरक्षाकर्मी) लाई सुरक्षा कमजोरीबारे थाहा हुने भएकाले ६ हजारको जुलुसमा ४ हजार प्रहरी परिचालन हुँदा पनि नियन्त्रणमा आउन नसकेको हो’, स्रोतको ठहर छ ।
गृह मन्त्रालयले राजावादी आन्दोलनमा सक्रिय अवकाशप्राप्त जर्नेल, प्रहरी अधिकृत र विगतमा विभिन्न राजनीतिक समूहमा सक्रिय लडाकूको पहिचानसमेत गरिसकेको छ । बताइएअनुसार तराई–मधेसमा हतियारसहित आत्मसमर्पण गरेका विभिन्न सशस्त्र समूहका लडाकूहरू अहिले एटिएफ नामक राजावादी सङ्गठनमा सक्रिय छन् । सिरहा–सप्तरीदेखि झापासम्म आत्मसमर्पण गरेको गोइत समूहका २३ जना, तराई टाइगर्सका दर्जनौँ कार्यकर्ता र सेना समायोजनमा नगई माओवादीमा बसेका र पछिल्लो समय दुर्गासँगै हिँडेका जीवनबहादुर पुलामी मगरहरू तीनकुनेको हिंसात्मक प्रदर्शनमा अग्रभागमा खटिएका थिए ।
टिप्पणीहरू