कालो कोटमा सरकार पक्षको ‘क्लिनस्विप’

कालो कोटमा सरकार पक्षको ‘क्लिनस्विप’

नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ताधारी गठबन्धनका साझा उम्मेदवार बरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रको प्यानल नै विजयी भएको छ । 

नेपाली कांग्रेस र नेकपा एमाले निकट वकिलहरुको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले ‘क्लिनस्विप’ गरेको हो । 

अध्यक्षमा मिश्रले माओवादी केन्द्र निकट रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दा महासचिवमा उनकै प्यानलका केदार कोइरालाले बाजी मारे । मिश्र कांग्रेस र कोइराला एमाले निकट वकिल हुन् । 

मिश्रले ५ हजार ५२ मत ल्याउँदा रमनकुमारलाई २६ सय २१ मत आएको छ । दुई ठूला संगठन मिलेको अवस्थामा उनले पाएको यो मत सम्मानजन नै हो ।  

बुढानिलकण्ठ घर भएका मिश्र कांग्रेस सभापति शेरबहादुर देउवाको छिमेकी पनि हुन् । झण्डै तीन दशकदेखि कानुनी सेवामा रहेका उनी नेपाल ल क्याम्पसका प्राध्यापक पनि हुन् । ०६६ देखि ०६९ सम्म बारको महासचिव रहेका उनी एक दशकपछि अध्यक्ष बन्न सफल भएका हुन् ।
 

टिप्पणीहरू