छिन्नमस्तामा अत्याधुनिक सौर्य ऊर्जा र हाईब्रिड कृषि सिँचाई आयोजना

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक सौर्य ऊर्जा र हाईब्रिड कृषि सिँचाई आयोजना निर्माण हुने भएको छ । दातृ निकाय र गाउँपालिकाको संयुक्त लगानीमा सो आयोजना निर्माण हुन लागेको हो ।
६ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनामा गाउँपालिकाले २० प्रतिशत र बाँकी ८० प्रतिशत लगानी दातृ निकायको रहने पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
पालिकाको वडा नम्बर, ५ लोखरमअन्तर्गत फुलकाही चौरी र वरिपरिको चार सयदेखि ६ सय बिगाहा जमिन अब कृषि, ऊर्जा, र समृद्धिको नयाँ युगतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै उनले भने, ‘यस क्षेत्रमा नेपालकै अग्रणी, दिगो र अत्याधुनिक सौर्य ऊर्जा आयोजना तथा हाईब्रिड मोडल कृषि सिँचाई प्रणालीको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ ।’
आयोजनाले वर्षायाममा आधारित कृषि प्रणालीलाई व्यवसायिक बनाउन ऐतिहासिक कार्य गर्ने भन्दै अध्यक्ष चौधरीले अहिले सिँचाई अभावका कारण लोखरमका किसान सीमित उत्पादनमा भर पर्नुपरिरहेको तर आयोजनाले उनीहरुको अवस्था बदल्ने बताए ।
‘यो आयोजना केवल सिँचाइ सुधारको परियोजना होइन, वर्षाको भरमा निर्भर निर्वाहमुखी खेतीबाट व्यवसायिक व्यावसायिक कृषितर्फको ऐतिहासिक परिवर्तन हो । दशकौँदेखि सिँचाई अभावका कारण सीमित उत्पादनमा बाँधिएका लोखरमका किसानको भाग्य बदल्ने, आर्थिक क्रान्ति ल्याउने र स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महत्वाकांक्षा यो आयोजनाले बोकेको छ,’ उनले भने ।
हाल अन्तिम चरणमा रहेको सो आयोजनाको पानी प्रतिरोधात्मकता परीक्षण पूरा हुने क्रममा छ । उक्त कार्य सम्पन्न भएपछि सो क्षेत्र हरियाली हुनुका साथै उच्च उत्पादकत्व, रोजगारी सिर्जना र आधुनिक कृषिको गौरवशाली उदाहरण बन्ने अध्यक्ष चौधरीको भनाइ छ ।
उनका अनुसार आयोजना निर्माण भएपछि छिन्नमस्ताको ५, ६ र ३ नम्बर वडाको जमिनमा सिँचाई सुविधा पुग्नेछ । आयोजना स्थलमा राखिएको सोलार पावरबाट दिउँसो सौर्य ऊर्जा र राति विद्युत ग्रिडबाट विद्युत प्रवाह गरेर सिँचाई सुविधा उपलब्ध गराइने छ ।
आयोजनाबाट प्रवाह हुने सिँचाई किसानलाई निःशुल्क उपलब्ध गराउने र त्यसको लागि आवश्यक प्राविधिक कर्मचारी पनि गाउँपालिकाले नै व्यवस्था गर्ने तयारी छ । दातृ निकायले आयोजनामा लगानी गर्नको लागि आवश्यक अध्ययन करिब टुंग्याएको छ ।
दातृ निकायको तर्फबाट चार चरणमा अध्ययन भइसकेको छ । साथै, अध्ययन नतिजा सकारात्मक आएकोले आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया शुरु गर्ने तयारी छ । गाउँपालिकाले लगानी गर्ने कुल लागतको २० प्रतिशत लगानी गर्न प्रतिबद्धतासहितको पत्र पठाएपछि ठेक्का प्रक्रिया शुरु हुने बताएको छ ।
टिप्पणीहरू