अदालतको फैसला कार्यान्वयनमा काँग्रेस जोगाउँदै गृहमन्त्री

अदालतको फैसला कार्यान्वयनमा काँग्रेस जोगाउँदै गृहमन्त्री
सुन्नुहोस्

नेपाली काँग्रेसका स्वर्गीय नेता एवम् तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काविरुद्वको भ्रष्टाचारसम्बन्धी मुद्दा फैसला कार्यान्वयनमा गृहमन्त्री रमेश लेखकको चलखेल बाहिरिएको छ । सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा गृहमन्त्री नै बाधक देखिएपछि सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आश्चर्य व्यक्त गरेको छ । 

अदालतबाट भएको अन्तिम फैसला कार्यान्वयनमा गृहमन्त्रीले पक्षपातपूर्ण निर्णय लिएको तथ्य बाहिरिएपछि निर्देशनालयले अर्को विकल्पको तयारी गरिरहेको स्रोतले जनाएको छ । सर्वोच्चले भ्रष्टाचारी करार गर्दै २०६९ साउन ३० गते डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना र त्यति नै मूल्य बराबरको बिगो र त्यसबाट थपिएको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । 

सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको संयुक्त इजलाजले त्यतिबेला गरेको फैसला कार्यान्वयनमा आलटाल गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचारी ठहरिएका व्यक्तिबीचमै दोहोरो मापदण्ड अपनाएको आरोप छ । खड्काले भ्रष्टाचारबाट जोडेको घरजग्गा जोगाउने तर अन्य पाँचजना पूर्वकर्मचारीसहित छ जनाको सम्पत्ति मात्र जफत गर्ने निर्णय लिएपछि विवाद उत्पन्न भएको हो । गत शुक्रबार गृहमन्त्रीले फैसला कार्यान्वयनका लागि भ्रष्टाचार मुद्दामा दोषी ठहर पाँच पूर्वकर्मचारीको घरजग्गा जफत गर्ने मन्त्रीस्तरीय निर्णय गरेका छन् । त्यही मेसोमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा दोषी ठहरिएका एक व्यक्तिको पनि घरजग्गा जफतको निर्णय भएको बताइन्छ । 

तर, गृहमन्त्रीले खड्काको फैसला कार्यान्वयनको फाइल तयार भएर पनि काँग्रेसको पार्टीगत साइनोका कारण सम्पत्ति जफतको निर्णय लिएनन्  । सर्वाेच्चको संयुक्त इजलासबाट फैसला हुँदा खड्काको परिवारको नाममा रहेको सानेपाको डेढ रोपनी जग्गासहितको घर जफत हुने उल्लेख छ । सानेपाको घरसँगैको अर्काे जग्गाबाट पनि थप २० लाख ९२ हजार रुपैयाँबराबरको सम्पत्ति जफत हुने फैसलाको तपशिल खण्डमा उल्लेख छ ।  तर फैसला कार्यान्वयनमा राजनीतिक आस्थाको छायाँ देखिएको छ । 

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट पनि खड्काको हकमा फैसला कार्यान्वयनमा ढिलासुस्ती र अड्चन हुँदै आएको थियो । राजनीतिक प्रभाव र दबाबकै आधारमा खड्काको सम्पत्ति जफत प्रक्रिया अघि नबढ्नुले दण्डहीनता र शुसासनमाथि नै चुनौती खडा भएको बताइन्छ । सम्पत्ति जफत प्रक्रिया अघि नबढाउन विभागले राजनीतिक दबाब र हस्तक्षेप झेल्दै आएको छ । 

गृहमन्त्रीमा काँग्रेस हुँदा तत्तत् समयमा आफूले भनेको सुन्ने बफादार व्यक्तिलाई प्रमुख बनाएर लैजाने गरिएको पाइन्छ । गृहमन्त्रीको उद्देश्य पूरा गर्न अहिले पनि विभागबाट जफत प्रक्रिया नै अवरुद्ध छ । सर्वोच्चको फैसला कार्यान्वय निर्देशनालयका एक कर्मचारीले भने, ‘सबै फाइल तयारी अवस्थामा छ । गृहकै अनिच्छाका कारण विभागबाटै फाइल रोक्न लगाइएको सुन्नमा आएको छ । वास्तविकता हामी पनि बुझ्दैछौं ।’

सर्वाेच्चको फैसलामा जफत गर्नुपर्ने उल्लेख भएको खुमबहादुरको सानेपाको घरजग्गा पत्नी शिला र छोरा अनुरागले भोगचलन गर्दै आएका छन् । खड्का पुत्र अनुराग लुम्बिनी प्रदेश सभामा नेपाली काँग्रेस सदस्य छन् । मूल घरजग्गा बाहेक अदालतले किटान गरे अनुसारको २० लाख ९२ हजार रुपैयाँबराबरको सम्पत्ति कसरी जफत गर्ने भन्ने झमेला पनि हटिसकेको निर्देशनालयका कर्मचारी बताउँछन् । फैसला कार्यान्वयनमा जान बाँकी डेढ रोपनी जफतका विषयमा कुनै समस्या नरहेको कर्मचारीहरु बताउँछन् । 

मन्त्रालय र विभागका अनुसार खड्काको मुद्दा फैसला कार्यान्वयन १२ वर्षदेखि रोकिएको छ । खड्का पटक–पटक मन्त्री हुँदा दुई करोड ३६ लाखको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले २०६३ कात्तिक २९ मा खड्कालाई सफाइ दिएपछि अख्तियारले गरेको पुनरावेदनका आधारमा सर्वोच्चबाट अन्तिम फैसला भएको हो । फैसला कार्यान्वयनमा बाहुबलीको यस्तै दबाब र बाधाअड्चनकै कारण नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा परिसकेको छ  ।

टिप्पणीहरू