मिडियाको मुख थुन्न खोज्ने विनोद चौधरी सधैं पराजित
कहिले एमाले त कहिले काँग्रेसबाट सांसद पद किन्दै आएका व्यापारी विनोदकुमार चौधरीले आस्था प्रकाशन प्रालिविरुद्ध दायर गरेको अर्को एउटा मुद्दामा पनि सदा झैं लज्जास्पद हार व्यहोरेका छन् । आस्था प्रकाशनका अध्यक्ष किशोर श्रेष्ठसहितलाई विपक्षी बनाएर उनले दायर गरेको मुद्दाको फिराद दावी नै गलत ठहरिएको छ ।
ललितपुर जिल्ला अदालतको २ नम्बर इजलासका न्यायाधीश पुनाराम खनालले विनोद अध्यक्ष रहेको चौधरी ग्रुपका तर्फबाट जनआस्थाविरुद्ध दायर भएको गाली बेइज्जती मुद्दामा सुनाउनुभएको फैसलामा उक्त आदेश छ । पहिलो पेशी चौधरी ग्रुपकै तर्फबाट स्थगित गरिएको उक्त मुद्दामा दाबी नपुग्ने भन्दै फिराद खारेज गरिएको हो ।
मूलतः मुद्दाको फिराद दावी नै गलत रहेकाले आरोप पुष्टि हुन नसक्ने हुँदा प्रमाण बुझ्न जरुरी नभएको र साक्षी बकपत्रसमेत गर्न जरुरी नठानेरै फिराद दाबी खारेजीको फैसला सुनाइएको अवस्था छ । सँधैझैं यसपटक पनि चौधरी ग्रुपका तर्फबाट कानुन व्यवसायी ईश्वर अधिकारी बहसमा भिडेका थिए । जनआस्थामा प्रकाशित समाचारको प्रतिरक्षा हाम्रा कानुनी सल्लाहकार बद्रिप्रसाद भुसाल र अधिवक्ता दिक्षा रसाइलीले गर्नुभएको थियो ।
चौधरीका तर्फबाट फिरादमा वाईवाई चाउचाउको गुणस्तर एकदम अच्छा छ भन्दै गाली बेइज्जती मुद्दा दर्ता गरिएको थियो । चाउचाउको गुणस्तरसम्बन्धी विषयमा गाली बेइज्जतीको मुद्दा आकर्षित नै हुन नसक्ने सामान्य हेक्कासमेत चौधरी ग्रुपका कानुन व्यवसायीले राख्न नसकेको बहसको क्रममा पुष्टि भयो ।
पत्रकार आचारसंहिता २०७३ को दफा ६ बमोजिम शुरु उजुरी दर्ता र कारबाहीको अधिकार प्रेस काउन्सिलमा गर्न सकिने सामान्य ज्ञान नराखी दर्ता गरिएको उक्त फिराद प्रथम सुनुवाईमै खारेजीमा परेको हो । जनआस्थाले गत असार २४ गते ‘लिम्चुङबुङमा पहिले मदिरा,अहिले वाइवाइ बर्जित’ शीर्षक समाचार प्रकाशित गरेको थियो । सो समाचारविरुद्ध सिजी फुड्स नेपालले मन्दिरा गौतमलाई गत साउन १५ गते अदालतमा मुद्दा दायर गर्न पठायो ।
उदयपुर लिम्चुङबुङ गाउँपालिकाको १८ औं कार्यपालिका बैठकले सिसाजन्य मदिरा तथा पेयपदार्थहरुमा रोक लगाउने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष मेजरकुमार राईले दोस्रो चरणमा चाउचाउलगायतका ‘जंकफुड’ मा प्रतिबन्ध लगाउने बताएका थिए । पैसासँगै स्वास्थ्य सकिने बताउँदै उनले चाउचाउको बिक्री वितरण निषेध गर्ने जानकारीसमेत दिएका थिए । त्यसै समाचारबाट आफ्नो गाली बेइज्जती भएको चौधरीको फिराद थियो ।
विनोद चौधरीका तर्फबाट यसअघि जनआस्थामा प्रकाशित समाचाविरुद्ध दायर भएका तीन वटा मुद्दामा पनि दाबी नपुग्ने ठहर भइसकेको छ । निषेधाज्ञा र अवहेलनाको दावी गर्दै हालिएको एउटा मुद्दा २०७९ माघ २५ गते जिल्ला अदालत ललितपुरबाट दावी नपुग्ने फैसला भयो ।
त्यसपछि उनकी बुहारी आश्रयता कार्कीले दायर गरेको बेइज्जती मुद्दामा पनि अदालतले २०८० पुस १ गते सुनाएको फैसलामा दाबी नपुग्ने ठहर भएको छ । गत वर्ष फागुन २१ गते उच्च अदालत पाटनले सुनाएको अर्को मुद्दामा समेत गाली बेइज्जती नहुने ठहर भइसकेको छ । ती सबै मुद्दामा जनआस्थाको तर्फबाट कानुन व्यवसायीहरु बद्रिप्रसाद भुसाल र दिक्षा रसाइलीले बहस गर्नुभएको थियो ।
यो पनि...
१. जनआस्थाविरुद्धको अर्को मुद्दामा पनि विनोद चौधरीको हार
२. चौधरीमाथि नक्कली बीमा दाबी गरेको आरोप, चार ठाउँमा उजुरी
४. वाइवाइ गुणस्तरहीन, विनोद चौधरीलाई दुई लाख जरिवाना
टिप्पणीहरू