नेम्वाङ्गमाथि मृत्युपछि पनि किन यस्तो अत्याचार ?
संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग समकालीन नेतामध्ये कम विवादितमा पर्दथे । शालीन व्यक्तित्व,सहकार्य र सहमतिका साथ काम गर्ने शैलीका कारण प्रतिस्पर्धी पार्टीका नेतासमेत उनीप्रति सकारात्मक धारणा राख्थे । नाम जस्तै सुवास थिए, उनी । यिनै निर्विवाद नेता सुवास नेम्वाङ्गलाई मृत्युपछि भने विवादमा तान्न खोजिएको छ ।
२०८० भदौ २६ गते नेम्वाङ्गको असामयिक निधन भयो । एमालेका तत्कालीन जिल्ला अध्यक्ष एवं इलाम-१ का साँसद महेश बस्नेतले 'स्व.सुवासचन्द्र नेम्वाङ्ग स्मृति प्रतिष्ठान' बनाए । उनले आफ्नै अध्यक्षतामा प्रतिष्ठान दर्ता गरिरहँदा एमालेभित्रै असन्तुष्टि थियो । परिवारका सदस्य पनि खुशी थिएनन् । संविधान निर्माणदेखि शान्ति प्रक्रिया र विकासका निम्ति नेम्वाङ्गले खेलेको भूमिकाअनुसार केन्द्रीयस्तरमा र भरसक राज्य तहबाटै स्मरण योग्य काम भैदियोस् भन्ने परिवारको चाहना हो । तर, परिवारको असहमतिकै बीच प्रतिष्ठान बनाएर साधारण सभा, अधिवेशन क्यालेण्डर प्रकाशन गर्दै आएकोमा यस हप्ता भने इलामको पुरानो खसी बजार नजिकै सानो ठाउँमा सुवासको शालिक स्थापना गरेर रातारात अनावरणसमेत गरियो ।
जसै थाहा पाएलगत्तै स्थगित गर्नका लागि अनुरोध गरियो । तर, उनीहरुको पुकार लत्याउने काम भयो ।
नेम्वाङ्ग जयन्तीको अवसर पारेर प्रतिष्ठानले शालिक अनावरण रोक्न सांसदसमेत रहेका छोरा सुहाङले अनुरोध गरेका थिए । भाइ सुरेशले एमाले जिल्ला अध्यक्ष गणेश बराललाई लिखितरुपमै अनुनय-विनय गरे भने स्वयम् सुवासचन्द्रकी श्रीमतीले समेत अनिच्छा जाहेर गर्दागर्दै शालिक थपना गरिएपछि विवाद र चर्चा चुलिएको हो । अनावरण गरिएको नेम्वाङ्गको शालिक उनको मुखाकृतिसँग नमिल्ने खालको छ । खसी बजार छेउको कुनामा त्यो पनि मुखाकृतिसमेत नमिल्ने शालिक रातारात खडा गरिएकोप्रति आशंका भैरहेको छ ।
सुवासको सहानुभूतिबाट राजनीतिमा अघि बढ्न प्रतिष्ठानले आफूहरुको असहमति हुँदाहुँदै जबरजस्ती काम गरिरहेको परिवारको आरोप छ । हुन पनि प्रतिष्ठान स्थापना गरिँदा होस् या साधारण सभा र अधिवेशनमा राजनीतिमा सक्रिय रहेका छोरा सुहाङलाई समेत सहभागी नगराइनुले अनेक आशंका उब्जाएकै छ ।
पारिवारिक स्रोतका अनुसार फागुन २८ गते सुवासको जन्मजयन्तीका दिन प्रतिष्ठानको साधारण सभा भनेर निमन्त्रणा गरिए पनि अघिल्लो दिन साँझ शालिक अनावरण गर्ने भित्री तयारी थाहा दिईएन । जसै थाहा पाएलगत्तै स्थगित गर्नका लागि अनुरोध गरियो । तर, उनीहरुको पुकार लत्याउने काम भयो ।
सुवासचन्द्रको मुखाकृतिसँग मेल नखाने शालिक बनाएकोमा परिवारजनको अझ बढी चित्त दुखाई छ । कुनै कोणबाट पनि सुवासजस्तो नदेखिने शालिक बनाएर अपमान गरिएको गुनासो अरुले पनि गरिरहेका छन् । तर, प्रतिष्ठानका पदाधिकारीको चालढाल हेर्दा ठूलै काम गरे जसरी रमाइरहेको भान हुन्छ ।
टिप्पणीहरू