नेकपा एसद्वारा सडकको कार्यक्रम सार्वजनिक
'पार्टी निर्माणका लागि आन्दोलन' भन्दै आएको नेकपा एकीकृत समाजवादीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
आज काठमाडौँमा विशेष पत्रकार सम्मेलन गर्दै आन्दोलन संयोजन कमिटीका संयोजकसमेत रहेका महासचिव घनश्याम भुसालले चरणवद्ध आन्दोलन घोषणा गरेका हुन् ।
नेकपा एसले रोजगारी र सुशासनका लागि आन्दोलन भनेको छ । जसअन्तर्गत कृषि, उधोग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, विदेश नीति र संविधान कार्यन्वयनको पुनरावलोकन मुद्दामा बहस केन्द्रित गर्ने जनाइएको छ ।
राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको भुसालले दाबी गरेका छन् । घोषित कार्यक्रमअनुसार भोलिदेखि चैत्र ६ गतेसम्म मातहत कमिटीमा छलफल गरिनेछ ।

चैत्र ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन गर्ने र चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । त्यस्तै, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने जनाइएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने तय गरिने छ । वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र बुझाउने भनिएको छ ।
वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने महासचिव भुसालले जानकारी दिएका छन् ।
टिप्पणीहरू