गणतन्त्रको पक्षमा एक लाख मान्छे उभ्याउने दाबी
संसद्को प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रको रक्षाका लागि एक लाख मान्छे सडकमा उतार्ने भएको छ ।
आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आज बिहान बसेको मोर्चाको १२औँ बैठकले पछिल्लो समय बढ्दो प्रतिगामी शक्तिहरुको हर्कत रोक्न गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने निणर्य गरेको हो । मोर्चाको अघिल्लो बैठकले नै चैत १५ गते काठमाडौँमा वृहत जनसभा गर्ने निर्णय गरेको थियो ।
उक्त कार्यक्रमलाई भव्य बनाउन ५० हजारदेखि एक लाख मानिस काठमाडौँ ल्याउने मोर्चाको दाबी छ । देशभरबाट मोर्चाका कार्यकर्ता र सर्वसाधारण राजधानी आउने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेले जानकारी दिए ।
उनका अनुसार मोर्चामा आवद्ध दलका सम्बन्धित जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीले प्रदर्शनको खर्च व्यवस्थापन गर्नेछन् । ‘कम्तिमा ५० हजार जनता सहभागी हुन्छन्, तर हाम्रो टार्गेट एक लाख हो’, उनले जनआस्थासँग भने, ‘मोर्चामा भएका दलका विभिन्न कमिटीले खर्च व्यवस्थापन गर्ने निर्णय भएको छ ।’
संसदीय राजनीतिभन्दा बाहिर रहेका गणतन्त्रवादी दल तथा समूहलाई पनि प्रदर्शनमा सहभागी गराउने मोर्चाको तयारी छ । ‘त्यसको लागि ती दल तथा समूहसँग औपचारिक प्रस्ताव गर्ने कुरा भएको छ’, पौडेलले थपे ।
त्यस्तै, जनप्रदर्शनको पूर्वतयारीका रुपमा मोर्चाले भोलि नागरिक आन्दोलनका अगुवा तथा बुद्धिजिबीसँग अन्तरक्रिया गर्दैछ । कुपन्डोलस्थित हिमालयन होटलमा सो कार्यक्रम आयोजना हुने मोर्चाको अर्को घटक नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।
उनका अनुसार भोलि अपराह्न सोही होटलमा पत्रकार सम्मेलन गरेर बृहत जनसभाको स्थान तोकिनेछ । मोर्चाले पछिल्लो दुई सातामा मुलुक गम्भीर र जटिल परिस्थितिमा पुगेको निष्कर्ष पनि निकालेको छ ।
टिप्पणीहरू