राजसंस्था पक्षधर पर्यटक प्रवर्द्धक पदच्यूत

राजसंस्था पक्षधर पर्यटक प्रवर्द्धक पदच्यूत
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारी लेटर हेडमा ‘श्री ५’ सम्बोधन गर्ने पोर्चुगलको लिजवनका लागि पर्यटक प्रवर्द्धकरमेशराज बाँस्तोलालाई सरकारले जिम्मेवारीबाट हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजबाट लागू हुनेगरी उनलाई उक्त जिम्मेवारीबाट हटाएको जनाएको छ । 

यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले जिम्मेवारी खोसिएको मन्त्रालयका सहायक प्रवक्ता गोकर्णप्रसाद विष्टले बताए । ‘पोर्चुगलको लिजवन शहरको पर्यटक प्रवद्र्धकमा नियुक्त श्री रमेशराज बाँस्तोलालाई पर्यटक प्रवद्र्धनसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम मिति २०८१–११–२५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐ. कार्यविधिको दफा ५ बमोजिम मिति २०८१–११–२६ (मा.मन्त्रीस्तर) निर्णयानुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, जारी सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षको फागुन १३ गते नियुक्त भएका उनले सरकारी लेटर हेडमा ‘श्री ५’ लेख्दै पूर्व राजा ज्ञानेन्द्रका पक्षमा वकालत गरेका थिए । त्यसपछि मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेकोमा जवाफमा उनले ‘म राजसंस्था पक्षधर हो, तिम्रो पद तिमी नै राख’ भनेका थिए ।

टिप्पणीहरू