राजतन्त्रले केही नगरेको, आफूहरुले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रमा हुन नसकेका काम गणतन्त्र स्थापनाको केही वर्षमै सम्पन्न भएको दाबी गर्नुभएको छ । कोशी प्रदेश सभाको बैठकमा आज विशेष सम्बोधन गर्दै उहाँले राजावादीहरुलाई कटाक्ष गर्नुभएको छ ।
विभेद तथा अन्यायलाई जन्माएको र हुर्काएको राजतन्त्रलाई नागरिकले कुनै पनि हालतमा स्वीकार नगर्ने प्रधानमन्त्रीको विश्वास छ । ‘राजतन्त्र हुञ्जेल वर्षौंसम्म हुन नसकेका कामहरु हामीले केही वर्षभित्रै गरेका छौं, साधारण होइन, असाधारण काम गरेका छौँ’, उहाँले भन्नुभयो, ‘जसले विभेद, अन्याय, सामन्तवादी जन्माउने र हुर्काउने काम गरे, जनता तीनको पक्षमा छैनन् ।’
एमाले अध्यक्षसमेत रहनुभएका ओलीले संसदमै रहेका राजावादी दलहरुले गणतन्त्रमाथि उठाएको प्रश्न स्मरण गर्दै प्रतिप्रश्न पनि गर्नुभयो । ‘अहिले व्यवस्था र संविधानविरुद्ध केही आवाज उठ्न थालेको देखिन्छ, चाहियो के त ?’, उहाँले सोध्नुभयो, ‘योभन्दा बेटर प्रणाली छ भने बेटर प्रणालीको बारेमा छलफल गरौँ न । के हो त्यो बेटर प्रणाली भन्या ?’
नत्र, एकाध मान्छेको स्वार्थका लागि राजतन्त्र पुनःस्थापना असम्भव रहेको उहाँले दोहोर्याउनुभयो । भन्नुभयो, ‘सुधारका लागि संविधान छ, जनता छन् । हामी लोकको तन्त्र, लोकतन्त्रमा छौँ । प्रतिस्पर्धात्मक प्रणालीमा नागरिक सर्वोच्च हुन्छ, र यहि नै हो हिँड्ने उत्कृष्ट बाटो ।’
करिब एक घण्टा बोल्नुभएका प्रधानमन्त्री ओलीले त्यसअघि पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
टिप्पणीहरू