उता अवैध आप्रवासी, यता ओभरस्टे

उता अवैध आप्रवासी, यता ओभरस्टे

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाले धमाधम अवैध आप्रवासीलाई घर फर्काइरहेको छ । ट्रम्पले सत्ता सम्हालेको पछिल्लो डेढ महिनामै गैरकानूनी रुपमा अमेरिका बस्दै आएका झण्डै ३८ हजार विदेशी नागरिक निष्कासनमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

आप्रवासीहरुमाथि कडाई गर्ने नीति लिएका ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । सोअनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने जनाएको छ ।

ट्रम्प प्रशासनको अवैध आप्रवासी स्वदेश फर्काउने नीतिपछि अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार गैरकानूनी रुपमा अमेरिका बस्ने नेपालीको संख्या एक हजार ३६५ जना छ । यीमध्ये तीन दर्जन बढी अर्थात् ३८ जना नेपाली अमेरिकाबाट नेपाल डिपोर्ट भइसकेका छन् । 

उनीहरुलाई हातमा हत्कडी र खुट्टामा नेल बाँधेर नेपाल फर्काइएकोबारे चर्चा परिचर्चा भइरहेको छ । सदनदेखि सडकसम्म यो बहसको विषय बनेको छ । यद्यपि, अमेरिकाबाट नेपाली डिपोर्ट भएको यो पहिलो पटक भने होइन । चाँडै धनी बन्ने सपनामा दलाललाई लाखदेखि करोडौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीको संख्या हजारौं छ । 

त्यसरी पुगेर निष्काशनमा परेका नेपाली सयौंको संख्यामा छन् । तर, पछिल्लो पटक जुन तरिकाले नेपालीलाई डिपोर्ट गरियो, त्यसले मुलुकमा हलचल ल्याएको छ । अमेरिकाको अध्यागमन कानुनअनुसार अवैध रुपमा त्यहाँ बसेका आप्रवासीलाई आफ्नै देश फर्किनका लागि केही समय चेतावनी दिइन्छ ।

चेतावनी दिँदा पनि अटेर गरी बसेमा खुट्टामा नेल र हातमा हत्कडी बाँधेर सम्बन्धित मुलुकको अध्यागमनलाई बुझाइन्छ । पछिल्लो पटक अमेरिकाबाट फर्काइएका नेपालीको हकमा पनि यही भएको देखिन्छ । ट्रम्पको चेतावनीलाई नजरअन्दाज गरेकै कारण नेपालीसहित गैरकानूनी रुपमा अमेरिका बसेका विभिन्न देशका नागरिकलाई त्यसरी स्वदेश फर्काइरहेको अवस्था छ । 

यता, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो सात वर्षमा अमेरिकाबाट दुई सय ६५ जना नेपाल फर्काइएका छन् । सन् २०१८ मा ४५, २०१९ मा ८३, २०२० मा ३०, २०२१ मा १३, २०२२ मा ७, २०२३ मा २१ र २०२४ मा ६६ जना नेपालीलाई अमेरिकाले फर्काएको ब्युरोको तथ्याङ्क छ । यसअघि पनि ट्रम्पकै पालामा ठूलो संख्यामा अवैध आप्रवासी निकालिएकोमा फेरि सो कार्यको थालनी भएकोले अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या बढ्ने प्रष्ट छ । 

तर, अमेरिका मात्र नभई विभिन्न देशबाट डिपोर्ट हुने नेपालीको संख्या पनि बढ्दै गएको छ । मुलुकबाट विदेशिनेको संख्या बढेसँगै डिपोर्ट हुने नेपालीसमेत बढ्दै गएका छन् । वैदेशिक रोजगार, अध्ययनलगायत विभिन्न कामका निम्ति विदेश पुगेका नेपाली डिपोर्ट भई स्वदेश फर्किने क्रम बढ्दो छ । 

पछिल्लो तीन वर्षमा चार हजार बढी नेपाली डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ । गत वर्ष मात्र विभिन्न देशले पन्ध्र सय नेपालीलाई डिपोर्ट गरेको विभागको तथ्याङ्क छ । त्यस्तै, सन् २०२३ मा एक हजार ४३५ र २०२२ मा एक हजार १५८ जनालाई नेपाल फर्काइएको थियो । 

विभागका अनुसार डिपोर्टको कारण एउटा मात्रै हुँदैन । विभिन्न कारणले डिपोर्ट गर्ने गरिन्छ । गैरकानूनी रुपमा देश प्रवेश गरेकादेखि गम्भीर अपराध गर्ने, भिसा शर्त तोड्ने वा सम्बन्धित देशमा रहन कानूनी हैसियत गुमाएका विदेशीहरुलाई डिपोर्ट गरिन्छ ।

विभागका निर्देशक ईश्वरीदत्त पनेरु पछिल्लो समय अमेरिका, कोरिया, थाइल्याण्ड, जापान, अस्ट्रेलिया पुगेका नेपालीहरु डिपोर्ट भएर आउने क्रम बढेको बताउँछन् । उनका अनुसार डिपोर्ट हुनेमा गलत व्यक्तिको प्रलोभनमा परेर वा एजेन्टमार्फत तल्लो बाटो हुँदै विभिन्न देश पुगेकाहरु बढी छन् । 

योसँगै वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएका (साउदी अरेबिया, कतार, ओमान, मलेसिया, कुवेत, युएईलगायत) देशबाट नेपालीहरु डिपोर्ट हुने गरेको उनको भनाइ छ । ‘डिपोर्टको अनेक कारण हुन्छ । एउटै मात्र हुँदैन । कोही गैरकानूनी रुपमा बसेकाले डिपोर्टमा पर्छन् भने कसैलाई सम्बन्धित देशको कानून नमान्दा वा अपराधमा संलग्न हुँदा डिपोर्ट गरिन्छ,’ निर्देशक पनेरुले भने ।

नेपालमा ओभरस्टे बढ्दो 

नेपालबाट डिपोर्ट भएर जाने विदेशीको संख्या पनि बढ्दो छ । अध्यागमन विभागका अनुसार पछिल्लो चार वर्षमा झण्डै १८ सय विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन् । सन् २०२१ मा तीन सय आठ, २०२२ मा पाँच सय ७०, २०२३ मा चार सय ५८ र २०२४ मा चार सय ९६ जना विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका थिए । 

वार्षिक औसत साढे चार सय विदेशी नागरिक निष्काशनमा पर्ने गरेको र तीमध्ये ८० प्रतिशतभन्दा बढी ओभरस्टे अर्थात् भिसा अवधिभन्दा बढी बसेको कसुरमा निष्काशित हुँदै आएको विभागको भनाइ छ । अध्यागमनसम्बन्धी कसुरमध्ये ओभरस्टे एक कसुर हो । अध्यागमन ऐन, २०४९ ले पर्यटक भिसा वर्षमा बढीमा पाँच महिना (१५० दिन) सम्मको लागि जारी हुने व्यवस्था गरेको छ । 

उक्त अवधिभन्दा बढी पर्यटक भिसा नियमित नगरिने र नहुने भएकोले तत्पश्चात् कुनै पनि भिसा नियमित नगराई बसेको अवस्था ओभरस्टे हो । अध्यागमन कार्यविधि, २०६५ ले ओभरस्टे कसुरमा अधिकतम तीन वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गर्न सकिने व्यवस्था गरेको छ । 

यसैअनुरुप नेपालमा भिसा नियमित नगराई बस्ने विदेशीलाई विभागले गृह मन्त्रालयको स्वीकृतिमा निष्काशन गर्दै आइरहेको छ । विभागका अनुसार ओभरस्टे कसुरमा गरिने निष्काशनलाई चार प्रकारमा बाँडिएको छ । 

पहिलो एक वर्षभन्दा कम, दोस्रो एकदेखि दुई वर्ष, तेस्रो दुईदेखि तीन वर्ष र चौथों तीन वर्षभन्दा माथिको ओभरस्टे । अध्यागमन कार्यविधि, २०६५ ले एक वर्षभन्दा कमको ओभरस्टेमा सोही भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ । 

त्यस्तै, एकदेखि दुई वर्षसम्मको ओभरस्टेमा एक वर्षसम्म, दुईदेखि तीन वर्षसम्मको ओभरस्टेमा दुई वर्ष र तीन वर्षभन्दा बढीको ओभरस्टेमा तीन वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गरिने व्यवस्था छ । विभागका अनुसार निष्काशनको ठूलो हिस्सा ओभरस्टेले ओगट्नुमा विभिन्न कारण देखिन्छन् । 

तीमध्ये मुख्य कारण विदेशीहरु जानाजान ओभरस्टे बस्नु हो । कानूनको छिद्रको गलत फाइदा उठाई ओभरस्टे भएर अवैध रुपमा नेपालमा बसिरहेका विदेशीहरु भिसा वर्षको अन्त्य (डिसेम्बर) तिर आई निष्काशन हुने र अर्को भिसा वर्ष लागेपछि (जनवरी) मा पुनः नेपाल प्रवेश गर्ने गरेको विभागको भनाइ छ । 

‘तर, विचारणीय कुरा के छ भने भिसा शुल्क तथा विलम्ब शुल्कको रुपमा दैनिक आठ अमेरिकी डलर बराबरको रकम तथा अतिरिक्त जरिवानासमेत भुक्तानी गरी एक भिसा वर्षको अन्त्यमा निष्काशन भई गएका विदशीले पुनः अर्को भिसा वर्ष लाग्नेबित्तिकै नेपाल प्रवेश गर्न खोज्नुले उनीहरु उक्त जरिवानासहितको भिसा शुल्क भुक्तानी गर्न सक्ने गरी कुनै माध्यमबाट पर्याप्त आय गरी नेपालमा बसिरहको सम्भावनालाई नकार्न सकिँदैन,’ विभागले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

टिप्पणीहरू