प्रचण्डद्वारा प्रधानमन्त्रीमाथि बिचौलियाको संज्ञा
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिचौलियाको संज्ञा दिनुभएको छ । उहाँले वर्तमान सरकारको ‘ड्राइभिङ’ सिटमा बिचौलिया बसेको जिकीर गर्दै भन्नुभयो, ‘तपाईंहरुको दुई तिहाई सरकारको घोडा बिचौलियाहरुले चलाएका छन्, त्यो घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले देख्या छैन । तपाईंहरुले गर्ने नियुक्ति, सेटिंग सबै बिचौलियाले गरिरहेका छन् । तपाईंहरुका संयन्त्र, बैठक, समिति सबै नाटक मात्रै हुन्, ड्राइभिङ सिटमै बिचौलिया बसेका छन् ।’
प्रधानमन्त्रीबाटै लोकतन्त्रको उपेक्षा गर्ने काम भइरहेको प्रचण्डको जिकिर छ । लोकतन्त्रलाई प्रतिगामी शक्तिबाटभन्दा बढी सत्तासीन साथीहरुले व्यवस्थाभित्रै चुनौती दिइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहिनता हो कि कुण्ठा हो ? सत्तापक्षका साथीहरुले यो प्रश्न आफैंलाई सोध्नुहोला ।’
ओली नेतृत्वको सरकारले आठ महिनामा लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिएको आरोपसमेत लगाउनुभयो । सरकारविरुद्ध नागरिकमा उत्पन्न भएको आक्रोश नै यतिबेला व्यवस्थाविरुद्ध पोखिन थालेको उहाँको अनुभव छ । ‘आठ महिनामा यो सरकारले लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदियो । एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो, बाल बन्दिर धुनुभयो, गिरिबन्धु धुनुभयो, त्रिविको जग्गा काण्ड धुनुभयो, तर फोहार भयो लोकतन्त्रमा’, उहाँले थप्नुभयो ।
प्रचण्डको उक्त आरोपलाई त्यसपछि धारणा राखेका नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा र एमाले सचिव एवम् सांसद गगन विष्टले गलत र तथ्यहीन भएको बताएका छन् ।
टिप्पणीहरू