राजावादी र सरकारविरुद्ध प्रचण्डको आक्रोश, निर्मम भएर प्रस्तुत हुने चेतावनी

राजावादी र सरकारविरुद्ध प्रचण्डको आक्रोश, निर्मम भएर प्रस्तुत हुने चेतावनी
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको उदारतालाई कमजोरी नठान्न राजावादीहरुलाई आग्रह गर्नुभएको छ । अन्यथा इतिहास निर्मम भएर प्रस्तुत हुने चेतावनी दिनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्नुभएका प्रचण्डले आठ महिनायता सरकारले प्रदर्शन गरेको शैली र त्यसबाट नागरिकमा उत्पन्न असन्तुष्टीको कारण नै प्रतिगामी शक्तिको चलखेल बढेको बताउनुभयो । ‘राजवादीहरुको यो चहलपलहको पछाडि आन्तरिक र वाह्य संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ, तर अहिले एक्कासी यो चलखेल किन वृद्धि भयो त ? मुख्य प्रश्न यो हो’, उहाँले भन्नुभयो, ‘आठ महिना सत्तामा रहेका साथीहरुले प्रदर्शन गरेको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तुष्टी नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाई छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले लोकतन्त्र र राजतन्त्रको तुलना गर्नै नमिल्ने समेत बताउनुभयो । उहाँले राजवादीहरुलाई सोध्नुभयो, ‘हिजो गणतन्त्र माग्दा टाउकोको मूल्य तोकिएको थियो राजतन्त्रअन्तर्गत, आज राजावादी साथीहरु यहि संसदमा हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण योभन्दा अरु केही हुन सक्छ र ?’

पूर्वराजालाई भ्रमबाट मुक्त हुन र लोकतन्त्रमै ‘स्पेस’ खोज्न प्रचण्डको सुझाव छ । अन्यथा, अलोकतान्त्रिक बाटो हिँड्ने प्रयास गरिएमा क्रान्तिले फेरि आफ्नो शक्ति देखाउने उहाँले थप चेतावनी दिनुभयो । अघि भन्नुभयो, ‘पूर्व शाही परिवारमाथि हिंसाको त परको कुरा हो, निर्वासनसमेत नतोकी पूर्व राजालाई तत्काल बस्ने ठाउँ दिएर गणतन्त्र लेखिएको इतिहास छ, यदि कसैलाई यो इतिहास क्रान्तिको मजबुरी मात्र थियो भन्ने लागेको छ भने त्यो एक निकै ठूलो भ्रम मात्र हो ।’

सरकारको गलत कदमविरुद्ध र प्रतिगामी शक्तिको चलखेलविरुद्ध माओवादीलाई एकैचोटी लड्नुपर्ने परिस्थिति आएको उहाँको अनुभव छ ।
 

टिप्पणीहरू