करमा कस्न के निहुँ पाऊँ,अनेक आरोप लगाऊँ

करमा कस्न के निहुँ पाऊँ,अनेक आरोप लगाऊँ
सुन्नुहोस्

अमेरिकाले चीनबाट आयात गरिने सामानमा पहिले १० र हालै १० गरेर २० प्रतिशत कर लगाएको छ । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि मेक्सिको, क्यानाडा,चीन र युरोपेली मुुलुकबाट आयातित सामानमा १० देखि २५ प्रतिशतसम्म कर बढाइएको छ ।

विभिन्न मुलुकलाई विभिन्न आरोप लगाउँदै कर बढाउँदा चीनमाथि भने अचम्मको लाञ्छना लगाइएको देखिँदैछ । ‘फेन्टानिल’ नामक अत्यधिक शक्तिशाली पीडा घटाउने लागुऔषध अमेरिका पुर्याउन चीनले सहयोग गरेको  आरोपसहित यस्तो कर थोपरिएको चिनियाँ गुनासो छ । 
यसैवीच चिनियाँ राज्य परिषदको सूचना कार्यालयले ‘फेन्टानिलसम्बन्धी लागुऔषध नियन्त्रणमा चीनको योगदान’ शीर्षक श्वेतपत्र नै जारी गरेको छ । यो लागुऔषध अत्यधिक शक्तिशाली सिन्थेटिक पिपेरडाइन ओपियोइड समूहमा पर्छ । यसलाई विशेषतः पीडा कम गर्नमा प्रयोग गरिन्छ । प्राप्त विवरणअनुसार यो हेरोइनभन्दा ३० देखि ५० गुणा बढी र मर्फिनभन्दा ५० देखि १०० गुणा बढी पीडा निवारणमा शक्तिशाली हुने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । यसको प्राथमिक क्लिनिकल उपयोग क्यान्सर रोगीहरूको उपचार र अन्य पीडादायी शल्यक्रियामा पेन म्यानेज्मेन्टको रुपमा प्रयोग हुने गरेको पाइएको छ ।

तर चीनले आफूमाथि ‘फेन्टानिल’को नाममा लगाइएको आयातित करसम्बन्धी आरोप सतप्रतिशत झुटो रहेको दाबी गरेको छ । कर बढाउने अन्य कुनै आधार नभेटेपछि बेतुकको लाञ्छना लगाइएको चिनियाँ अधिकारीहरु बताउँछन् । चीनले उक्त लागुऔषधको प्रयोगमा निगरानी राख्ने गरेको,यसको ओसारपसार र प्रयोगसम्बन्धी अपराधविरुद्ध कडा कदम चाल्ने गरेको उसको स्पस्टोक्ति छ । त्यसैगरी यस्ता लागुऔषधमा कडा नियन्त्रणका साथै त्यससम्बन्धी प्रविधिमा थप अनुसन्धान गर्दै आएको जानकारीसमेत दिइएको छ ।

"कर बढाउने अन्य कुनै आधार नभेटेपछि बेतुकको लाञ्छना लगाइएको चिनियाँ अधिकारीहरु बताउँछन् । चीनले उक्त लागुऔषधको प्रयोगमा निगरानी राख्ने गरेको,यसको ओसारपसार र प्रयोगसम्बन्धी अपराधविरुद्ध कडा कदम चाल्ने गरेको उसको स्पस्टोक्ति छ । त्यसैगरी यस्ता लागुऔषधमा कडा नियन्त्रणका साथै त्यससम्बन्धी प्रविधिमा थप अनुसन्धान गर्दै आएको जानकारीसमेत दिइएको छ ।"

हालै जारी श्वेतपत्रमा भनिएको छ, ‘मानव जातिका लागि साझा भविष्य निर्माण गर्ने दृष्टिकोणका साथ,चीनले सँधै लागुऔषध नियन्त्रणका अन्तर्राष्ट्रिय दायित्व र भूमिका इमान्दारीपूर्वक निर्वाह गर्दै आएको छ । अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रणको मामिलामा सक्रिय सहभागिता जनाउँदै यस विषयमा विश्वव्यापी व्यवस्थापनलाई अगाडि बढाउन चीन प्रतिबद्ध छ ।’

श्वेतपत्रमा फेन्टानिलको नाममा फैलाइएको अफवाह चीनलाई बदनाम गराउने उद्देश्यबाट प्रेरित रहेको समेत दावी गर्दै भनिएको छ, ‘यस्ता अन्यायपूर्ण कदम र हल्लाले कसैको पनि हित नहुनेमा हाम्रो अडान स्पष्ट छ ।’

समानता र आपसी सम्मानको आधारमा व्यावहारिक र व्यापारिक सहकार्य गर्न चीन तयार रहेको बताइरहँदा अमेरिकाले उल्टो व्यवहार देखाएको सोही स्वेतपत्रमा उल्लेख छ । विभिन्न बहानामा दबाब दिने,धम्क्याउने र फेन्टानिलको झुटो मुद्दामा टेकेर जबरजस्ती गर्न खोजिएकोमा कडा विरोध जनाउँदै लेखिएको छ, ‘तथ्यलाई सम्मान गर्न,आफ्नै हितलाई मनन गर्न र सही निर्णय लिन अमेरिकालाई आग्रह गर्दछौं ।’

चीनमाथि यसअघि पनि कोभिड फैलाएको अप्रमाणित आरोप अमेरिकाबाटै लगाइएको थियो ।

टिप्पणीहरू