राजावादीलाई काउण्टर दिन सल्लाह गर्दै प्रचण्ड र माधव

राजावादीलाई काउण्टर दिन सल्लाह गर्दै प्रचण्ड र माधव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा हिजो राजावादीहरुले काठमाडौँमा गरेको शक्ति प्रदर्शनपछि आन्तरिक छलफलमा व्यस्त उहाँको यस्तो प्रतिक्रिया आएको हो ।   

आज सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि प्रचण्डले सरकारका कारण प्रतिक्रियावादीहरु सल्बलाएको दाबी गर्नुभयो । राजावादीको प्रदर्शनले मुटु हल्लिएको हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’ 

राजावादीहरुको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा उहाँले सल्लाह गरिरहेको बताउनुभएको छ । 

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । इतिहासको रथ पछाडि फर्किन नसक्ने भन्दै उहाँले जनतालाई चाहिएको परिवर्तन र प्रगति राजसंस्थाबाट सम्भव नभएको स्पष्ट पार्नुभयो । 

'यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । २४० वर्षको इतिहासले बताइसकेको छ', नेपालले भन्नुभयो, 'फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छौँ भने हामी सँच्चिनुपर्छ ।' 

पोखराको एक हप्ता लामो बसाईपछि आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुको सडकमा उत्रिएका थिए । सडकबाट व्यवस्थामाथि प्रश्न उठेपछि मूलधारका राजनीतिक दलहरु रणनीति तय गर्न छलफलमा जुटेका हुन् ।

माओवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू