बोल्ने समय कुर्दै रवि लामिछाने

बोल्ने समय कुर्दै रवि लामिछाने
सुन्नुहोस्

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी खारेजको मागसहित उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका छन् । गत माघ १३ गते जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको आदेशबमोजिम एक करोड धरौटी बुझाएर थुनामुक्त भएका उनले केहिबेर अघि बुझाएको निवेदन दर्ता भएको बताइन्छ ।

यसअघि जिल्ला सरकारी वकीलको कार्यालयले पनि जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएको थियो । लामिछानेविरुद्ध कायम बिगोभन्दा कम धरौटी मागिएको र उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकीलहरुको माग छ । 

पछिल्लो समय मौन बस्दै आएका सभापति लामिछानेले आफूले बोल्ने समय अझै नआएको बताए । उच्च अदालतमा निवेदन दर्ता गराएर बाहिँरिदै गर्दा सञ्चारकर्मीले सोधेको जवाफमा भने, ‘अहिले मेरो कानुन व्यवसायीले बोल्नुहुन्छ, म बोल्दिनँ । तर मेरो पनि बोल्ने समय एकदमै नजिकै आएको छ । म तयारी गर्दैछु । तपाईंहरुलाई थाहै छ नि म बोल्ने मान्छे नै हुँ । छोटो प्रतीक्षापछि साथीहरुको प्रश्नलाई विशेष सम्बोधन गर्छु ।’

टिप्पणीहरू