आफूमाथिका आरोप मनोगत र प्रतिशोधपूर्ण रहेको कुलमानको दाबी

आफूमाथिका आरोप मनोगत र प्रतिशोधपूर्ण रहेको कुलमानको दाबी

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले नियुक्ति रद्द वा आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । गत बुधबारको क्याबिनेट बैठकले सोधनी गरेको चार बुँदे पत्रको जवाफमा उनले उक्त दाबी गरेका हुन् ।

घिसिङले आज ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयमा १६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् । जसमा आफूमाथि लगाइएको आरोप मनोगत र प्रतिशोधपूर्ण रहेको उल्लेख छ । आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गरेकाले त्यसमा थप जवाफ पेश गरिरहन आवश्यक नरहेको उनको भनाइ छ । 

ऊर्जा क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि गर्न आफू अहोरात्र खटिरहेको जानकारी गराउँदै घिसिङ्गले स्पष्टीकरण सोध्नेलगायतका कामकारबाही अनपेक्षित, पूर्वाग्रही र अन्यायपूर्ण भएको गुनासो पोखेका छन् । आफ्नो कार्यकालमा ९९ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको उनले जानकारी गराएका छन् । आर्थिक वर्ष २०७२–७३ सम्म सञ्चित घाटा ३५ अर्ब रहेकोमा हाल सञ्चित नाफा ४७ अर्ब पुगेको उनको जिकिर छ । 

उनले पेश गरेको पत्रमा भनिएको छ,‘मैले कार्यकारी निर्देशकको नेतृत्व लिएपछि लोडसेडिङ्ग अन्त्य भएको, ९९ प्रतिशत विद्युतीयकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्याएको, प्रभावकारी रुपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत निर्यात गरी उल्लेख्य वैदेशक मुद्रा आर्जन गर्न सफल भएको, विद्युत उत्पादन, प्रशारण र वितरण क्षमतामा चार गुणाभन्दा बढीले वृद्धि गर्न सफल भएको, विभिन्न वर्गका नागरिकसमेतलाई सहुलियत महसुल दरमा विद्युत सेवा प्रदान गर्न नेतृत्व गरेबापत प्रोत्साहित हुनुपर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयास भएबाट म अत्यन्त मर्माहित भएको छु ।’

राम्रो काम गर्दागर्दै बारम्बार स्पष्टीकरण सोधिएकोमा उनले असन्तुष्टि प्रकट गरेका छन् । त्यसैगरी, उनले ऊर्जामन्त्री दिपक खड्काले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । ऊर्जामन्त्री खड्काले लोडसेडिङ्ग अन्त्य गर्ने प्राधिकरण र कर्मचारीको भूमिकाको अवमूल्यन गरेको उनको आरोप छ ।

टिप्पणीहरू