पूर्व राजालाई प्रधानमन्त्रीको प्रश्न- केमा साथ माग्नुभएको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास भैरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउनुभएको हो । प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ६ गते पूर्व राजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको प्रधानमन्त्रीले बताउनुभयो ।
'फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न', उहाँले भन्नुभयो, 'लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?'
बरु पूर्व राजाको क्रियाकलापले देश अफ्ठ्यारोमा पर्न लागेको प्रधानमन्त्री ओलीको चिन्ता छ । 'उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ', उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले चुनावमा साथ मागेको कि के हो भनी प्रश्न पनि गर्नुभयो । 'म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्व राजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?' प्रधानमन्त्रीको प्रश्न छ ।
राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको प्रधानमन्त्रीले पुन: दोहोर्याउनुभयो । तर, शाहले के मागेको आफूले नबुझेको उहाँको भनाई छ ।
टिप्पणीहरू