प्रधानमन्त्रीको त्यो बोली, राजधानीमा मेलम्चीको बाढी
तीन वर्षअघिको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको थियो, ‘सरकारले काठमाडौंमा मेलम्चीको पानी होइन, भल बगाउँछ ।’
तत्कालीन नेपाली काँग्रेस नेतृत्व गठबन्धन सरकारको आलोचना गर्दै त्यस्तो भन्नुभएको उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ । त्यतिबेला सरकारको आलोचना गर्दै राजधानीमा मेलम्चीको भल बगाउने कटाक्ष गर्नुभएका ओलीकै पालामा अहिले उक्त भनाई व्यवहारमा देखिएको छ ।
तर, यो भल सरकारले होइन, पाइप फुटेपछि आएको हो । केही समययता राजधानीमा मेलम्ची खानेपानी आयोजनाका पाइपहरु एकपछि अर्को स्थानमा फुटिरहेका छन् । काठमाडौंमा मेलम्चीको भल खसाल्ने नेताहरुको उ बेलाको उद्घोष अहिले पाइप फुट्दा चर्चामा आउन थालेको छ ।
काठमाडौंबासीलाई सहज रुपमा खानेपानी वितरणका लागि ल्याइएको मेलम्ची राजधानीका घरमा नियमित वितरण हुन नसक्नु तर पाइप फुटेर सरकारी, सार्वजनिक कार्यालयमा आतंक मच्चिनुले यो चर्चाको विषय बन्नु स्वाभाविक पनि हो । यसलाई लिएर सामाजिक सञ्जालमा व्यंग्यसमेत भइरहेको छ ।
नेताहरुले बाँड्ने आश्वासन कहिल्यै पूरा नहुने भएपनि मेलम्चीको हकमा भने यो लागू नभएको भन्दै कटाक्ष गर्न थालिएको छ । ‘नेताहरुले काठमाडौंमा मेलम्चीको खोला बगाइदिन्छौंभन्दा भन्थे । आखिर त्यो पूरा भएन त !,’ व्यंग्य गर्दै एक जनाले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘काठमाडौंबासीलाई मेलम्चीको पानी मात्रै चाहिएको थियो तर यहाँ त भल नै ल्याइएछ,’ अर्काले भनेका छन् । मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीलाई सहज रुपमा खानेपानी आपूर्तिका लागि ल्याइएपनि पछिल्लो समय यो खतराको रुपमा देखिन थालेको छ । खानेपानीको पाइप एक्कासी फुट्दा सडकदेखि सरकारी कार्यालय, निजी घरहरु जलमग्न हुने गरेका छन् ।
पाइप फुटेर लाखौंको धनमालको क्षति भइरहेको छ । गम्भीर कुरा चाही अहिले भौतिक क्षति मात्र भइरहँदा भविष्यमा यस्ता घटनाले मानवीय क्षति हुँदैन भन्न सकिँदैन । गत मंगलबार थापाथली चोक नजिकै मेलम्ची खानेपानीको पाइप फुट्यो । पाँच सय मिलिमिटरको पाइप फुट्दा थापाथलीको प्रसूति गृह क्षेत्र जलमग्न भयो । सँगै सडक बिग्रियो त लाखौं लिटर पानी खेर गयो । पाइप फुट्नासाथ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गेट भल्भ बन्द गरेपछि ठूलो क्षति भने भएन ।
यद्यपि, यो पहिलो घटना होइन । यसअघि माइतीघर–बानेश्वर सडकखण्डको बबरमहल क्षेत्रमा पनि मेलम्चीको मुख्य पाइप फुटेको थियो । पाइप फुटेपछि विशेष र जिल्ला अदालतसहित आसपासका सरकारी कार्यालयहरु जलमग्न बन्यो । उक्त पाइप नेपाल विद्युत प्राधिकरणको लापरबाहीले फुटेपनि केयूकेएलले झण्डै चार घण्टासम्म पानीको बहाव रोक्न नसक्दा बबरमहलको सडकमा क्षति पुग्यो । साथै, ३० लाख लिटर पानी खेर गएको थियो ।
गत असारमा सोह्रखुट्टे–बालाजु सडकखण्डमा पनि मेलम्चीको पाइप फुट्दा झण्डै ११ फिटको खाल्डो पर्यो । त्यसमा पर्दा पठाओ चालक विकास शाक्य घाइते भए भने उनको बा.५० प ३८२ नम्बरको मोटरसाइकल बेकामे बन्यो । करिब ४२ इञ्चको पाइप फुट्दा निस्किएको पानीको फोर्सले पक्की सडक नै भत्काएको थियो । अहिले काठमाडौं उपत्यकाका सडकमा खाल्डाखुल्डी पर्नु, भासिनु, प्वाल पर्नु सामान्यझैं भइसकेको छ ।
तर, पछिल्लो समयमा भएका यी घटनाले मेलम्चीको पानी वितरणका लागि प्रयोग भएको पाइपको गुणस्तरमाथि नै प्रश्न खडा गरिदिएको छ । एक ठाउँमा फुटेको पाइप मर्मत हुन नपाउँदै अर्को ठाउँमा पाइप फुट्नुले यसबारे सोच्न बाध्य बनाएको हो । पानी वितरणका लागि प्रयोग भएका पाइपको गुणस्तरलाई लिएर अनेकौं टिकाटिप्पणीसमेत भइरहेका छन् ।
पाइपमै समस्या छः पूर्वाधार विज्ञ
पूर्वाधार विज्ञ आशिष गजुरेल पाइपमै समस्या भएकाले फुटेको बताउँछन् । राजधानीमा पछिल्लो समय मेलम्चीका पाइप फुट्नुमा तीन वटा कारण रहेको उनको बुझाई छ । पहिलो पानीको फोर्सभन्दा कम क्षमताको पाइप प्रयोग गर्नु । दोस्रो पाइपको जोइन्ट राम्रोसँग नहुनु र तेस्रो कमसल खालका पाइप प्रयोग हुनु हो ।
यीमध्ये अहिले मेलम्चीका पाइप फुट्नुमा पानीको प्रेसर बढी हुनु र पाइपको क्षमता कम हुनु उनको निश्कर्ष छ । ‘पाइप फुट्नुको यकिन कारण अध्ययन नगरी भन्न सकिँदैन । तर, अहिलेको घटनाको प्रकृतिले यही देखाउँछ,’ उनले भने ।
यस्ता घटनालाई नजरअन्दाज गरिए भविष्यमा राजधानी ठूलो जोखिममा पर्नसक्ने उनी बताउँछन् । ‘रातको समयमा यस्तो घटना भएमा के होला ? भौतिक क्षति त हुन्छ नै सँगै मानवीय क्षतिसमेत हुन सक्छ,’ उनले भने ।
पाइपमा कुनै समस्या छैन, समन्वय प्रमुख कारणः केयूकेएल
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राई पाइपको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गर्छन् । यस्ता घटना हुँदा जहिल्यै सामानको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको जनाउँदै उनले गुणस्तरमा कुनै सम्झौता नगरिएको बताए ।
‘पाइप फुट्दा गुणस्तरको प्रश्न उठ्छ । जुन स्वाभाविक पनि हो । तर, हाम्रो पाइपमा कुनै समस्या छैन । पाइप गुणस्तरीय छ । किनकि त्यो पाइप विज्ञ र प्राविधिकहरुकै सल्लाह सुझावमा राखिएको हो,’ उनले भने ।
उनका अनुसार मेलम्चीको पाइप जोडिएको चार वर्ष मात्रै भएको छ । जडान गर्नुपूर्व पाइपको प्राविधिक गुणस्तर चेकजाँच गरिएको थियो । ‘पाइप गुणस्तरीय रहेको यकिन भएपछि विज्ञहरुको सल्लाह सुझावमा राखेका हौं,’ प्रवक्ता राईले भने ।
अहिले पाइप फुट्नुमा गुणस्तरको समस्या नभई सडकको अवस्था, प्राविधिक मापदण्ड पालना नहुनु र अन्तरनिकाय समन्वयको अभाव प्रमुख कारण रहेको उनको ठहर छ । त्यस्तै, कतिपय ठाउँमा पानी वितरण प्रणाली पुरानो हुँदा र सडकमा चाप बढ्दा पनि पाइपमा समस्या आउने गरेको उनले बताए ।
‘नयाँ वितरण प्रणालीमा चुहावट हुँदा कतिपय स्थानमा पुरानै नेटवर्कबाट पनि पानी पठाउने गरिएको छ,’ प्रवक्ता राईले भने, ‘पानी छोड्दा पाइपमा अत्यधिक चाप हुन्छ । त्यसमा पनि सडकमाथि हुने चापले पाइपलाई अझ कमजोर बनाउँछ । पाइप जडान गर्ने समयमा यसबारे नसोचिएको भने होइन । तर, अहिले काठमाडौंमा विशेष गरी सवारीसाधनको चाप बढ्दो छ । सडकमाथि जस्तो पनि सवारीसाधन गुड्छन् । जसले पाइप जोडिएका स्थानमा दबाब सिर्जना गर्छ र पानी छोड्दा अत्याधिक चापका कारण फुट्छ ।’
राजधानीमा भइरहेका पछिल्ला घटनालाई गम्भीर रुपमा लिएर केयूकेएलले आवश्यक कामको थालनी गरेकोसमेत उनले जानकारी दिए । उनका अनुसार पानी वितरणको सेड्युल परिवर्तन गर्ने तयारी भइरहेको छ ।
‘काठमाडौंमा चौबिसै घण्टा पानी छाड्न सकिँदैन । त्यसैले, अहिले बिहान–बेलुका छाड्ने गरिएको छ । तर, यही समयमा सडकमा पनि अत्याधिक चाप हुने भएकाले पाइपमा समस्या निम्तिएको देखिन्छ । यसको समाधानका लागि पानी वितरणको सेड्युल परिवर्तन गर्ने तयारी गरिरहेका छौं,’ राईले भने । अर्कोकुरा, वितरण प्रणालीमा आधुनिक उपकरणको प्रयोग र सरोकारवालासँग समन्वय र सहकार्यको योजना रहेको उनले बताए ।
टिप्पणीहरू