पूर्व राजा जहाज चढ्दै, लिङ्गदेन र कमल थापा एयरपोर्ट पुगे

पूर्व राजा जहाज चढ्दै, लिङ्गदेन र कमल थापा एयरपोर्ट पुगे
सुन्नुहोस्

एक महिना लामो पोखरा बसाइपछि काठमाडौँ फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा समर्थकहरु एयरपोर्ट पुगेका छन् । 

माघ २७ गते पोखरा गएका पूर्वराजा आज तीन बजे समिट एयरको चार्टड जहाजमार्फत् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिदैछन् । उनको स्वागतका लागि राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम जारी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको नेतृत्वमा राप्रपाका नेताहरु गोल्डेन गेटबाहिर पुगिसकेका छन् । त्यस्तै, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरलगायका ठाउँबाट पनि राजावादीहरु धमाधम आइरहेका छन् । 

टोखा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वरबाट जुलुससहित एयरपोर्टका लागि निस्किएका राजावादीहरु गौशालामा भेला भएर नारा लाइरहेका छन् । केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालका नेता-कार्यकर्ता पनि गोल्डेन गेट पुग्दैछन् । 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका सदस्यहरु तिनकुनेमा भेला भएर एयपोर्टतर्फ लागेका छन् । उक्त समूहलाई व्यवसायी दुर्गा प्रसाईले नेतृत्व गरेका छन् । 

राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको समूह साढे एक बजे नै एयरपोर्ट पुगेको थियो । मुनिन्द्र राजभण्डारी नेतृत्वको आरटिएफ, सन्तोष राजवादी नेतृत्वको एटिएफ, अनिलबाबा बस्नेत नेतृत्वको शिव सेना नेपाल, महेन्द्रजंग शाह नेतृत्वको नेपाल एकता पार्टी लगायतको समूह पनि एयरपोर्ट पुगेको छ । 

अहिले एयरपोर्ट गेटमा राजावादीहरुले नाराबाजी गरिरहेका छन् । ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्रणभन्दा प्यारो छ’ जस्ता नारा लागिरहेको छ । 

भिडलाई नियन्त्रणमा लिन र सम्भावित हुलदंगा रोक्न तिनकुने, एयरपोर्ट, गौशाला, चावाहिल रुटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान विभागका गरी ४२ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । 

उता पोखरामा पूर्व राजालाई ठेकीको दही खुवाएर दुबोको मालाले सम्मानसहित जहाज चढाउन लागिएको छ ।

टिप्पणीहरू