साइत नहेरी जहाजको टिकट काटेका पूर्व राजालाई दही खुवाइँदै
पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई पोखराबाट काठमाडौँ उड्नुअघि दही खुवाइने भएको छ । साइत नजुराइ काठमाडौँ फर्किन लागेका पूर्व राजालाई ज्योतिषको सल्लाहमा दही खुवाएर जहाज चढाउन लागिएको हो ।
हिमानी शाह निकट मानिने ज्योतिष तथा कलाकार हरिहर अधिकारीको सुझावअनुसार त्यसो गरिएको बताइएको छ । राजावादी दल र विभिन्न समूहले पूर्व राजाको स्वागतका लागि आज दिउँसो तीन बजे एयरपोर्ट क्षेत्रमा भेला हुन समर्थकलाई आह्वान गरिरहँदा ज्योतिष अधिकारी भने साइत नहेरेको ? भन्दै एकाबिहानै झोक्किएका थिए ।
‘ज्योतिषशास्त्रको सामान्य साइत हेर्ने नियम पालन गराउन नसकेको हो कि नजानेको हो ? राम्रो साइतमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र ?’ उनको प्रश्न थियो ।
अधिकारीले पूर्व राजासँगै यात्रामा रहेका पण्डितलाई सुझाव दिँदै थपेका थिए, ‘आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन् । हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ? ’
यसको दुई घण्टापछि उनले पुनः अर्को सन्देश जारी गर्दै पूर्व राजाले दही खाएर यात्रा गर्ने जानकारी गराएका हुन् । ज्योतिष अधिकारीको भनाई छ, ‘ज्योतिष शास्त्रअनुसार आज यात्रा गर्दा ध्यान दिनुपर्ने केही कुराहरू मैले केही समयअघि आग्रह गरेको थिएँ, त्यसैअनुरूप राजाले पनि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु हुने कुरा जानकारीमा आएको छ, उहाँलगायत सबैको यात्रा शुभ रहोस् ।’
टिप्पणीहरू