उपेन्द्रका नेता माला लगाउँदै माओवादीमा मिसिए
उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका नेता तथा पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा समाहित भएका छन् । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत आज सर्लाहीको मलंगवामा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई खादा र सयपत्री फूलको माला लगाएर माओवादीमा स्वागत गर्नुभएको जनाइएको छ ।
आजदेखि माओवादी बनेका साह २०७४ को आम निर्वाचनमा सर्लाही– १ बाट संघीय सांसद निर्वाचित भएका थिए । २०७८ देखि एक वर्ष उनी जसपा संसदीय दलको प्रमुख सचेतक पनि भए ।
नवप्रवेशी साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख शक्ति माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए । काङ्ग्रेस र एमालेलाई पहिचानविरोधी दलको संज्ञा दिएका उनले मधेसी दल अवसरवादमा लिप्त भएकाले माओवादी रोज्नुपरेको दाबी गरे ।
साहसँगै ठूलो संख्यामा जसपासहित अन्य राजनीतिक दलका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
टिप्पणीहरू