पूर्व राजाको स्वागतमा अरु कार्यक्रम रद्द

पूर्व राजाको स्वागतमा अरु कार्यक्रम रद्द
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २५ गते काठमाडौंमा आयोजना गर्न लागेको आमसभा स्थगित गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ आमसभा स्थगित गरिएको जनाइएको छ ।

गत माघ २७ गते पोखरा जानुभएका पूर्वराजा आगामी आइतबार राजधानी फर्किँदै हुनुहुन्छ । प्रजातन्त्र दिवसका अवसरमा दिनुभएको सन्देशपछि पहिलोपल्ट काठमाडौं आउन लाग्नुभएकाले भव्य रुपमा स्वागत गरिने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

पार्टीपंक्ति र आम जनसमुदायलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरिएको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले केही समययता निरन्तर प्रदर्शन गरिरहेको छ । आज दिउँसो राप्रपाले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको थियो । 

बबरमहलबाट निकालिएको र्याली नगर परिक्रमापछि नारायणहिटी अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

टिप्पणीहरू