‘सरकारलाई पछाडिको ढोका प्यारो’
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले चोर बाटोबाट ल्याइएको अध्यादेशले राष्ट्रको हित नगर्ने बताएका छन् ।
आज प्रतिनिधि सभामा 'आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश' अस्वीकारको प्रस्ताव राख्दै उनले सरकारलाई नियत प्रष्ट पारिदिन आग्रहसमेत गरे । ३१ वटा ऐन संशोधन हुनेगरी सरकारले विभिन्न अध्यादेश ल्याएर सांसदहरुको छलफल, अध्यनन र विमर्श गर्ने अधिकार खोसेको बराइलीको भनाई छ ।
‘अध्यादेशको भित्र दफा वा खण्डमा के छ भन्दा पनि अध्यादेश ल्याउनुको नियत के छ भन्ने कुरा यहाँ प्रतित हुन्छ’, उनले भने, ‘सम्धी होस् वा ज्वाँइ, अगाडिको ढोका खुला हुँदाहुँदै पछाडिको झ्यालबाट पस्छ भने सही नियतले आएको भन्न सकिन्न ।’
सांसद बराईलीले समयमै संसद अधिवेशन किन नबोलाएको ? भनेर सरकारलाई प्रश्न गरे । ‘संसद नचलेको बेला अध्यादेश ल्याइयो, हुन त संसद बोलाए पो चल्छ । संसद बोलाउने काम कसको हो ? प्रतिपक्षको हो र ? मैले बुझ्न सक्या छैन’, उनले थपे ।
लोकतान्त्रिक मूल्य र मान्यताविपरित अध्यादेश ल्याइएको, अध्यादेशको उद्धेश्य नाफाखोरलाई थप फाइदा पुर्याउनु रहेको र यसले राष्ट्रको हित नगर्ने भएकोले उक्त अध्यादेश अस्वीकारको प्रस्ताव राखेको बराइलीले बताए ।
टिप्पणीहरू