निलम्बनको निर्णय फिर्ता लिन आग्रह

निलम्बनको निर्णय फिर्ता लिन आग्रह

पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पत्रकारले सोधेको प्रश्न आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिलको भएको स्मरण गराउँदै महासंघले प्रश्न सोधेको आधारमा संसद् सचिवालयले गरेको निलम्बनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

विज्ञप्ति जारी गर्दै महासंघले निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सचिवालयलाई आग्रह गरेको छ । ‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ’,विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ । फागुन ४ गते बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकारहरु प्रकाश वली र किशोरकुमार श्रेष्ठले ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू ?’, भनेर सोधेका थिए । 

पत्रकारले अमर्यादित प्रश्न सोधेको जनाउँदै एमाले सांसद सूर्य थापालगायतले संसदमै विरोध गरेका थिए । त्यसपछि सचिवालयले दुई जनाको पास एक महिनाका लागि निलम्बन गरेको हो ।

टिप्पणीहरू