कुलमान हटाउने कुराले संसदमा कलह
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए सडक र संसदबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
सरकारले घिसिङलाई कारवाही गर्ने तयारीका साथ एकपछि अर्को स्पष्टीकरण सोध्दै शून्य अंक दिएपछि त्यसविरुद्ध विपक्षीहरु एक ठाउँमा उभिएका हुन् । आज बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलका सांसदहरुले आक्रोश जनाए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको उक्त कदमको विरोध गर्दै रुलिङ्गको माग गरे । ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ', उनले आपत्ति जनाउँदै भने, 'निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।‘
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि शून्य नम्बर दिएर कुलमानलाई हटाउने कुरा कुनै हालतमा मान्य नहुने बताएका छन् । एउटा कुलमानलाई राज्यले लखेटे हजारौँ कुलमान लिएर आउने उनले चेतावनीसमेत दिए ।
‘राज्यले राम्रो काम गर्ने मान्छेलाई लखेटिरहेको छ । यस्तै हो भने हामी हजारौँ कुलमान लिएर आउँछौँ’, सांसद झाले कडा शब्दमा भने ।
राप्रपाकी सांसद बीना लामाले पनि कुलमानलाई हटाउने सरकरको रवैयाको निन्दा गरिन् । भनिन, ‘यो सरकार गठन भएदेखि नै कुलमानलाई हटाउने भनेर आतंक मच्चाइरहेको छ । यसको मुख्य उद्देश्य के हो ? राम्रो काम गर्नेले यही नियति भोग्नुपर्ने हो ? घिसिङले बुझाएको प्रतिवेदन नबुझ्ने अनि आफैँले अंक दिने यसको जवाफ माग्छु ।’
विपक्षीले कडैसँग आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
टिप्पणीहरू