प्रचण्डलाई ‘बुबा’ भन्नेहरु पनि प्रशस्तै

प्रचण्डलाई ‘बुबा’ भन्नेहरु पनि प्रशस्तै
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सञ्चालन गरेको एक साता पूरा भयो । नेपालकै होचो भूभाग झापाको केचनकबलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फाुगन १२ गते उद्घाटन गरेको अभियान कञ्चनपुर पुगेर समापन हुँदै छ । 

अभियानको सातौँ दिनसम्म आइपुग्दा माओवादी केन्द्र निकै उत्साहित देखिएको छ । हिजो दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अभियानले जनतासँग पार्टीको सम्बन्धलाई बहुमआयमिक र गुणात्मक बनाएको निष्कर्ष निकालेको छ । 

यसबीच विभिन्न पार्टीका करिब छ हजार नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको दाबी छ । अभियानमा हिँडेका एक नेताका अनुसार मोरङमा सबैभन्दा बढी प्रवेश गरेका छन् । त्यहाँ काँग्रेस, एमाले, जसपालगायत विभिन्न पार्टी परित्याग गरी झण्डै २५ सय नेता–कार्यकर्ता माओवादीमा मिसिएको उनले बताए ।

अभियानका क्रममा अहिलेसम्म पार्टी अध्यक्ष प्रचण्डले हजारभन्दा बढी ज्ञापन पत्र बुझेका छन् । विभिन्न संघ संस्था, निकाय र सर्वसाधारणले आफ्ना समस्या र माग राख्दै माओवादी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् । 

प्रचण्डले पनि ज्ञापन पत्र बुझाउनेहरुसँग विस्तृत कुराकानी गर्दै समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएको ती नेताले जानकारी दिए । 

रमाइलो कुरा चाँही एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भनेजस्तै प्रचण्डलाई ‘बुबा’ सम्बोधन गर्नेहरु अभियानका क्रममा धेरै भेटिएका छन् । युवा पुस्ताले प्रचण्डको व्यक्तित्वलाई ‘अलौकिक’ भनेको माओवादी नेताको दाबी छ । 

सुनसरीको एउटा घटना सम्झंँदै उनै नेता भन्छन्, ‘प्लस टु पढ्ने भाइबहिनी आएर एक्कासी घेरा हाले, एकछिन त सुरक्षाकर्मीलाई पनि अचम्म लाग्यो,  हामी पनि अकमक्क भयौँ । पछि बल्ल थाहा भयो, उनीहरु त जसरी पनि प्रचण्डलाई आफ्नो स्कुलमा लैजाने भनेर आएका रहेछन्, त्यो अद्भूत प्रेम थियो ।’

अध्यक्ष प्रचण्डको मर्निङ वाक पनि धेरैले मन पराएको उनको ठहर छ । कुनै नेतालाई सुरक्षाकर्मीले दुइतिर समातेर गाडीमा राख्नुपर्छ, तर हाम्रो अध्यक्ष बिहानै उठेर घन्टौं हिंड्नु हुन्छ । यसले युवापंक्तिलाई राम्रो सन्देश दिएको हामीले अनुभूत गरेका छौँ, उनले भने ।

टिप्पणीहरू