सरकारमाथि खनिए खनाल, मान्छे बेच्न मेनपावर खोलेको आरोप

सरकारमाथि खनिए खनाल, मान्छे बेच्न मेनपावर खोलेको आरोप

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकट नै संकटको पोका बोकेर हिँडेको टिप्पणी गर्नुभएको छ । 

सरकारले ल्याएका अध्यादेशलाई उहाँले संकटकै एउटा पक्षको रुपमा अर्थ्याउनुभयो । नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले भन्नुभयो, 'अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी भर्कम सरकार भएपनि अनेक संकटलो पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो ।'

नियमित प्रक्रियाबाटै कानुन बनाउन सकिने अवस्था हुँदाहुँदै अध्यादेश ल्याउनुपर्ने के जरुरी आइपर्यो ? भन्ने उहाँको प्रश्न छ । संवैधानिक व्यवस्थाअनुसार सामान्य रुपमा कानून बनाउने कुरामा आफूहरुको विरोध नहुने खनालले स्पष्ट पार्नुभयो । 

सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उहाँको भनाइ छ । त्यहि कारण आफ्नो पार्टीले समर्थन नगर्ने उहाँले बताउनुभयो ।

'अध्यादेशहरु तत्काल कानून बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो । त्यस्तो के विषेश अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन', नेता खनालले भन्नुभयो, 'त्यसकारण यसको प्रक्रियाकै हिसावले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’

सरकारकै कमजोरीको कारण मुलुकमा युवा पलायन बढिरहेको उहाँको दाबी छ । मान्छे बेच्नको लागि सरकारले ठाउँ-ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भिर आरोप खनालले लगाउनुभयो ।

टिप्पणीहरू