बिदेशी रक्सीमा ढक्कन तलमाथि पार्नेबिरुध्द
एक करोड बढी राजश्व चुहावट भएको घटनाका आरोपित दुई जनाविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा मंगलबार मुद्दा दायर गरेको हो ।
मुद्दा चलाइनेमा रुपन्देहीको सिद्धार्थनगर- १ बेलहियाका सशांक खनाल र काभ्रेको चौरीदेउराली-४ का रमेश गौतम छन् । उनीहरुउपर नेपालमा उत्पादन नहुने बिना स्रोतका आयातित ह्विस्कीलगायत मदिराका ढक्कन (क्राउन कर्क) र अन्य सामग्री तस्करी गरेको अभियोग छ ।
खनाल र गौतमले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा (३) ले निषेधित गरेको कार्यमार्फत ऐनको दफा (४) बमोजिम कसूर गरेको अभियोग पत्रमा उल्लेख छ । राजश्व अनुसन्धान विभागले ऐनको दफा २ (छ१) बमोजिम जनही एक करोड ३० लाख २७ हजार २९० बिगो, त्यसको सतप्रतिशत जरिवाना र दफा ३२ (१) (ख ) बमोजिम हदैसम्म कैद सजाय मागदावी गरेको छ ।
राजश्व अनुसन्धान कार्यालय, बुटवलले तस्करी गरिएका उक्त सामग्री बारामद गरी अनुसन्धान तथा तहकिकात अघि बढाएको थियोे । अनुसन्धानका दौरान प्रतिवादीहरुले जफत गरिएका सामग्रीको कानुनी प्रयोगको कुनै आधार र कारण खुलाउन नसकेपछि मुद्दा प्रक्रियामा गएको हो ।
उनीहरुविरुद्ध चोरी-पैठारी गरेको मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त:शुल्क लगायत राजश्व चुहावट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू