प्रधानमन्त्री ओलीलाई संविधान मिच्ने उस्तादको संज्ञा

सुन्नुहोस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ को संज्ञा दिनुभएको छ । 

सरकारले जारी गरेको तर संसदमा पेश हुन नसकेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीमाथि त्यस्तो टिप्पणी गर्नुभएको हो । कानून र विधिसँग कुनै मतलव नराख्ने ओलीको कार्यशैली हो भन्दै अध्यक्ष नेपालले आलोचना गर्नुभयो । 

'अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरववोध गर्नुहुन्छ', उहाँले कटाक्ष गर्दै भन्नुभयो, 'उहाँलाई संविधानसित मतलव छैन, कानूनसँग मतलव छैन, विधिसँग मतलव छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलव छैन ।'

संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास अध्यक्ष नेपाल स्मरण गर्नुभयो । विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको उहाँको जिकिर छ । 

'पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो भएको छैन । उहाँलाई मन लाग्यो भंग गरिदियो', पूर्वप्रधानमन्त्री नेपाल भन्नुहुन्छ, 'अदालतले त्यो बेठिक भन्न थाल्यो । त्यो पनि उहाँले टेर्नु भएन । जनमानसले त्यसलाई गलत ठानेर आन्दोलन गर्यो फेरि उहाँले दोस्रो पटक विघटन गर्नुभयो । यस्तो किसिमको पृष्ठभूमि बोेकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो गरिएको होला भन्ने आशा गर्न सकिंदैन ।' 

संसदीय समितिमा विचाराधीन विधेयक फिर्तासमेत नलिई अध्यादेश ल्याउनु संसदीय मान्यताको बर्खिलाप हुने भन्दै उहाँले भन्नुभयो, 'संसदीय समितिमा विचाराधीन विधेयक छलफलको क्रममा रहेको समयमा अध्यादेशबाट ल्याउन पाइँदैन । ल्याउनै पर्यो  भने त्यो विधेयक समितिबाट फिर्ता भइसक्नुपर्छ । अनि त्यसपछि अध्यादेशको रुपमा ल्याउन सकिन्छ । उहाँले त्यो विधि पनि उल्लङ्घन गर्नुभयो ।' 

संसद अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेश सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने अध्यक्ष नेपालको भनाई छ । उहाँको प्रश्न छ, 'विधि उल्लङ्घन गर्ने कुरा दण्डनीय हुँदैन र ?' 

भूमि समस्या समाधान गर्नुभन्दा पनि आफ्नालाई पोस्नको लागि भूमिसम्बन्धी अध्यादेश ल्याएको दाबी गर्दै नेपालले सरकासँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गर्नुभयो ।

 

टिप्पणीहरू