‘कहिँ नभाको जात्रा, ऊर्जा मन्त्रालयमा’
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले ‘कहिँ नभाको जात्रा, ऊर्जा मन्त्रालयमा भइरहेको’ टिप्पणी गरेको छ । सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ऊर्जामन्त्री दीपक खड्काको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
दूधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई कारबाही गर्न मन्त्रालयले प्राधिकरणलाई दबाब दिएकोमा उनले आपत्ति पनि जनाए । सामाजिक सञ्चालमा आलोचनात्मक विचार राखेकै भरमा मन्त्रालयले कारबाही गर्न दबाब दिएर अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको उनको आरोप छ । ‘कहिँ नभाको जात्रा हाँडीगाउँमा जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ उनले सोधे, ‘मन्त्रीको आलोचना गरेकै कारण जिम्मेवारीबाट हटाउन खोज्ने ? अनि महशुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ?’
पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेलले प्राधिकरणका कार्यकारी निर्देशकलाई पनि सरकारले त्रास देखाइरहेको बताए । ‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेको सुनिन्छ, के तर्साउन खोजिएको हो ?’ उनले थप सोधे ।
टिप्पणीहरू